
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकले यातायात सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । आज बसेको बैठकले अत्यावश्यक सेवा र राजमार्गमा रोकिएका मालबाहक र यात्रुबाहक सवारीसाधनलाई गन्तव्यतिर पठाउन स्थानीय प्रशासन निर्देशन दिएको हो ।
तर, जोखिमयुक्त सडकमा रात्रिकालीन बस सेवा सञ्चालन नगर्न निर्देशन दिइएको छ । अवरुद्ध सडकहरूको मर्मत सम्भार गरी तत्काल सडक सुचारु गर्न सडक विभागलाई लेखी पठाउने निर्णय पनि भएको छ । बैठकले अवरुद्ध खानेपानी, विद्युत्, सञ्चारलगायत अत्यावश्यक सेवा तत्काल सञ्चालन गर्न सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय गरेको छ ।



बैठकले अति भारी वर्षाका कारण पीडित तथा प्रभावित व्यक्तिहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ । विपद्जन्य घटनाबाट भएको प्रारम्भिक क्षतिको आकलन, प्रभावित जनसंख्या तथा क्षेत्रको विवरण यथाशीघ्र संकलन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
बैठकले विपद् प्रभावित व्यक्ति तथा परिवारलाई राहत, स्थानान्तरण तथा पुनर्स्थापनासम्बन्धी कार्य यथाशीघ्र सम्पन्न गर्न सम्बन्धित स्थानीय तह र सरोकारवाला निकायलाई आग्रह गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्ग (भकुण्डेवेसी–नेपालथोक खण्ड) यथाशक्य सुचारु गरिने बताएका हुन् । भौतिक पुर्वाधार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले ३/४ दिनभित्रमा उक्त सडक सुचारु हुने बताए । वीपी राजमार्ग (भकुण्डेवेसी–नेपालथोक खण्ड) र मेची राजमार्ग यथाशक्य छिटो सञ्चालनमा ल्याउनेगरी अवरोध हटाउने र डाईभर्सन बनाउने काम सुरु भएको उनको भनाइ छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal