खोटाङ, ४ वैशाखः


लोपोन्मुख वन्यजन्तुको संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले आजदेखि जैविक विविधता तथा रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन-२०८३’ सुरु भएको छ ।
जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने तथा लोपोन्मुख वन्यजन्तुको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा पहिलोपटक दिक्तेल बजारमा जैविक विविधता तथा रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।
दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालित अन्तरराष्ट्रिय सम्मेलनमा नेपाल, भारत, भुटान, बङ्गलादेश, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र जर्मनीले सहभागिता जनाएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौँ, वन तथा भू-संरक्षण विभाग काठमाडौँ, राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौँं, त्रिभूवन विश्व विद्यालयको सहकार्यमा तीनदिने अन्तरराष्ट्रिय सम्मेलन दिक्तेलमा आयोजना गरेको हो ।
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले ‘प्रथम जैविक विविधता तथा रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन’ आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
“विश्वमा जलवायु परिवर्तनमा आएको परिवर्तनका कारण वन्यजन्तु र जैविक विविधता सङ्कटमा पर्दै गएका छन् । यो अवस्थामा दिक्तेलमा आयोजना गरिएको अन्तरराष्ट्रिय सम्मेलनले आवश्यक राष्ट्रिय नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो, “सम्मेलनमा विभिन्न देशका विषय विज्ञलाई सहभागी गराइएको छ । जिल्लामा पहिलोपटक आयोजना गरिएको सम्मेलनले स्थानीय स्वरोजगार, स्थानीय सीप र रैथाने सामग्रीको प्रयोग तथा पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।”
आजदेखि सुरु भएको सम्मेलन वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी विभिन्न मुलुकका प्रतिनिधिले १० वटा विषयगत कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची राखिएको नगरपालिकाले जनाएको छ । जैविक विविधता संरक्षण र दीर्घकालीन योजना निर्माण, लोपोन्मुख वन्यजन्तु संरक्षित क्षेत्र र प्राथमिकतामा राख्नुपर्ने विषयहरूको पहिचान, जैविक विविधता संरक्षणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिबद्धताहरूसँग सम्बन्धित कार्यपत्र प्रस्तुत हुने नगरप्रमुख भट्टराईले जानकारी दिनुभयो ।
सम्मेलनको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नाष्ट) का उपकुलपति डा दिलीप सुब्बाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । सम्मेलनको अवसरमार दिक्तेल बजारमा र्याली प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी तथा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा संरक्षणसम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ ।
सम्मेलनस्थलमा प्रदर्शनीका लागि राखिएका लोपोन्मुख वन्यजन्तु रेडपाण्डा र थारको बाँसबाट बनाइएका कलात्मक चित्र आकर्षणको केन्द्र बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी-६ नेर्पाका कलाकार शम्भू राईले बाँसको भाँटा तथा चोया प्रयोग गरेर निर्माण गर्नुभएको रेडपाण्डा र थारको कलात्मक चित्रमा तस्बिर खिचाउनेको घुइँचो लागेको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको अन्तरराष्ट्रिय सम्मेलनले होटल व्यवसायसमेत फस्टाएको व्यवसायीहरुले बताएका छन् । दिक्तेल बजारमा जैविक विविधता तथा रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलनसँगै वैज्ञानिक अन्वेषण तथा विज्ञान-गणित प्रदर्शनीसमेत भइरहेकाले जिल्लाको चहलपहल बाक्लिएको छ ।
रेडपाण्डा संरक्षणका लागि दिक्तेल रुपाकोट मझुवागढी-१० पाथेका र केपिलासगढी गाउँपालिका-१ फेदीमा ‘समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम’ सञ्चालन गरिएको छ । विश्वको लोपोन्मुख वन्यजन्तुमा पर्ने खोटाङमा रहेको पुष्टि भएपछि ‘समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम’ सुरु गरिएको हो ।
सङ्घीय सरकारको १०० पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग नजिकको जङ्गलमा रेडपाण्डा पाइने भएकाले ‘मुन्दुम ट्रेल-रेडपाण्डा-थार रुट’ पदमार्ग प्रवर्द्धन गर्ने नगरपालिकाको योजना छ । किरात समुदायको उद्गमस्थल हलेसीस्थित तुवाचुङ-जायजुम हुँदै मध्यपहाडी लोकमार्ग सडकखण्डको हुर्लुङदेखि रूपाकोटबाट बगरेभञ्ज्याङ, सिकुरीभञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपाण्डा-थार रुट’ नामाकरण गरिएको छ ।
जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्र वडा रहेको) यो नगरपालिकाले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित बाँस तथा बाँस सम्बन्धी उद्योगको प्रवर्द्धनको कामसमेत गर्दै आएको छ । स्थानीय स्रोतको परिचालन गर्दै देश विकास गर्न सकिने सन्देश प्रवाह गर्न बाँस सम्मेलन गरेको नगरपालिकाले प्रथम जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३ आयोजना गरेको हो ।
राष्ट्रिय बाँस सम्मेलन गरेर बाँस तथा बाँसजन्य सामग्रीको प्रवर्द्धन एवं नीति निर्माणका लागि दबाब सिर्जना गरेपछि नेपाल सरकार, सहरी विकास मन्त्रालयबाट बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत भएको छ । सरकारले स्वीकृत गरेको मार्गदर्शनमा भूकम्प प्रतिरोधी, वातावरणमैत्री र किफायती संरचना निर्माणका लागि आवश्यक प्राविधिक विवरण र घरका नमूना डिजाइनसमेत समावेश गरिएको छ ।
नगरपालिकालाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले पुरस्कृत गरेको छ । बाँसजन्य स्रोतको संरक्षण, प्रवर्द्धन तथा प्रयोगमार्फत स्थानीयस्तरमा बाँसलाई भवन निर्माण, हस्तकला, व्यवसायिक उत्पादन तथा वातावरणमैत्री समाधानका रुपमा रुपान्तरणसँगै बाँस सम्बन्धी सीप विकास, प्रविधि विस्तार र उद्यमशीलता प्रोत्साहनमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको नाष्टले जनाएको छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














