पर्वत, ११ वैशाख:


पर्वतको फलेवास नगरपालिका-खानीगाउँमा सञ्चालन भएको पाँच दिने निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ । ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त शिविरमा आठ सय जना दन्तरोगीको निःशुल्क उपचार गरिएको छ ।
धुलिखेल अस्पताल तथा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको संयुक्त आयोजनामा सञ्चालन भएको शिविरमा ७९१ जनाको उपचार गरिएको हो । दाँत सफा गर्ने, भर्ने, उखेल्ने, चम्काउने, मुख तथा दन्त रोगको परीक्षण र परामर्श लगायतका सम्पूर्ण सेवा निःशुल्क रूपमा प्रदान गरिएको आयोजकले जनाएको छ ।
सामान्यतया महँगो पर्ने दन्त उपचार सेवा गाउँमा निःशुल्क पाइएपछि सेवाग्राहीहरू लाभान्वित भएका छन् । शिविरमा विशेषज्ञ डा स्वागत महन्त र नीरज ढ्याकुसहित १७ जनाको स्वास्थ्य टोली खटिएको थियो भने ५० जना दन्तरोगसम्बन्धी अध्ययनरत विद्यार्थीले प्रत्यक्ष रूपमा सेवा प्रदान गरेका थिए ।
शिविरमा पर्वत जिल्ला र छिमेकी बागलुङ जिल्लाबाट सर्वसाधारण उपचारका लागि आएका थिए । विशेषगरी दाँत दुख्ने, गिँजासम्बन्धी समस्या, कीरा लाग्ने तथा पुराना दन्त समस्याबाट पीडित नागरिकले शिविरबाट लाभ लिएको धुलिखेल अस्पताल फलेवासले जनाएको छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














