काठमाडौँ, १२ वैशाख:


विश्व शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘म्यूजिक फर पिस’ कार्यक्रम आयोजना गरिएको छ । ‘जर्नालिस्ट फर जस्टिस नेपाल’को आयोजनामा शुक्रबार कमलपोखरीस्थित रसियन हाउसमा आयोजित उक्त कार्यक्रममा सङ्गीतका विभिन्न धुनमार्फत विश्व शान्तिको कामना गरिएको थियो ।
संस्थाका अध्यक्ष टिकाराम खड्काले शान्तिका अग्रदूत गौतम बुद्धको देश नेपालबाट विश्व समुदायलाई ‘युद्ध होइन, संवाद र वार्तामार्फत शान्तिको मार्ग खोज्नुपर्ने’ सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा रसियन दूतावासकी काउन्सिलर तथा रसियन हाउसकी निर्देशक अनास्तासिया खोखलोभाको सन्देश सुनाउँदै रसियन हाउसका कार्यक्रम व्यवस्थापक सन्तोष कार्कीले सङ्गीतलाई सांस्कृतिक संवादको सशक्त माध्यमको रूपमा उद्धृत गर्नुभयो । उहाँले रूस–नेपाल कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको सन्दर्भमा यस कार्यक्रमलाई साझा मूल्य, सांस्कृतिक विविधता, एकता र शान्तिको प्रतीकका रूपमा लिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा वाद्यवादकहरू अध्याय भण्डारी, प्रतीक डंगोल र अनुष गन्धर्वले ‘रेशम फिरिरी’, ‘फर्की आऊ’ र ‘फूलको आँखामा’ जस्ता लोकप्रिय तथा शान्तिप्रेरित गीतका धुनमा वाद्यवादन प्रस्तुत गर्नुभएको थियो । यस्तै, गायक तथा सङ्गीतकार सागर अधिकारी (शरद) ले ‘अहङ्कार टुटोस्’, बाल कलाकार आध्या रेग्मीले कथक नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा माओवादी जनयुद्धको उद्गम थलो रुकुम पूर्वबाट सहभागी नौ जना किशोरीको ‘फूलको आँखामा फूलै संसार’ गीतमा आधारित शान्ति सन्देशमूलक भिडियो सामग्री प्रस्तुत गरेका थिए ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














