काठमाडौँ, ११ वैशाखः


नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान समसामयिक चित्रकला विभागको आयोजनामा आजदेखि प्रतिष्ठानमा ‘क्यानभासमा टेम्केमैयुङ’ कला प्रदर्शनी सुरु भएको छ ।
प्रदर्शनी उद्घाटन गर्दै राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले भोजपुरलाई सामाजिक, सांस्कृतिक, प्राकृतिक रूपमा चिनाउन यस प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले कलाकृतिको अवलोकन गर्दा भोजपुर पुगेको आभास भएको धारणा राख्नुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलालाई हामीले दृष्यचित्र, दर्शनचित्र र सांस्कृतिक चित्रका रूपमा हेर्दै आएको बताउँदै यसलाई अबको अवस्थामा दर्शनसँग जोडेर पनि हेर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानले देशका ६० भन्दा बढी जिल्ला तथा १८० भन्दा बढी पालिकामा पुगेर त्यहाँको कलाको उत्थान, प्रवर्द्धन तथा विकासमा विभिन्न कार्यक्रम गरिसकेको जानकारी दिनुभयो । कार्यक्रमका सभाध्यक्ष समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवाले नेपाल प्राकृतिक र सांस्कृतिक रूपमा चिनिएको बताउँदै कलालाई पर्यटन र संस्कृतिसँग जोड्नुपर्ने बताउनुभयो ।
पूर्वमन्त्री एसपी कोइरालाले नेपाली ललितकलाका क्षेत्रमा प्रतिष्ठानले गरिरहेको कार्य प्रशंसनीय रहेको बताउनुभयो । उहाँले प्रतिष्ठानको बहुआयामिक भूमिकाका बारेमा चर्चा गर्नुभयो । पूर्वमन्त्री हेमराज राईले कलाको माध्यमबाट भोजपुरको विविध क्षेत्रको प्रवर्द्धनका लागि गरेको कार्य उत्कृष्ट रहेको धारणा राख्नुभयो ।
प्राज्ञ रमेशनाथ खनालले प्रदर्शनीमा राखिएका कलाकृतिले पर्यटनलाई प्रवर्द्धन गर्न थप सहयोग गर्ने बताउनुभयो । टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले कला सृजनाको मूल स्रोत रहेको बताउँदै टेम्केमैयुङलाई क्यानभासमा उतार्ने काम भएकामा खुसी लागेको धारणा राख्नुभयो । उहाँले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण संवर्द्धन तथा प्रवर्द्धनमा स्थानीय सरकार काम गर्न तत्पर रहेको बताउनुभयो ।
विसं २०८२ जेठ ५ गतेदेखि ७ गतेसम्म भोजपुरमा प्रतिष्ठान र टेम्केमैयुङ गाउँपालिकाको सहकार्यमा भएको कला कार्यशालामा बनाइएका कलाकृति यहाँ प्रदर्शन गरिएको छ । कलाकारहरू नारदमणि हार्तम्छाली, संजय वान्तवा, अरुणा हिङमाङ, सुस्मा श्रेष्ठ, सुनिता राणा, शिव छाङ्छा राई, विनोदकुमार गुप्ता, विवेक मुकारुङ, बिजेन राई, विष्णु थापा, विद्यमान तामाङ, धिरज राई, गणेश लामा, कान्छाकाजी भासिमा, किशोर नकर्मी, महेन्द्र राई, सगुन पोखरेल, सुमन श्रेष्ठ, तारा राई, तिलक राई, युशोदाकुमारी लम्सालले सृजना गर्नुभएको ४२ कलाकृति प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनी वैशाख १४ गतेसम्म सञ्चालन हुनेछ ।
समारोहमा राष्ट्रियसभा सदस्य दुर्गा गुरुङ, राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी, प्रतिष्ठानका पदाधिकारी, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद सदस्य राजन मुकारुङ, भोजपुर सेवा समाजका अध्यक्ष पासाङ दोर्जे शेर्पा, चोमोलुङ्मा युनेस्को समाजका अध्यक्ष हरिवंश किरात, किरात रुङ्गमाहाङ समाजका अध्यक्ष नवीनकुमार राईलगायतको सहभागिता थियो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














