ठाकुरद्वारा (बर्दिया), १७ वैशाखः


कृषि तथा पशुपन्छी विकास एवं वन तथा वातावरणमन्त्री गीता चौधरीले बर्दिया राष्ट्रिय निकुञ्जको संरक्षणलाई प्रभावकारी बनाउँदै लगिने प्रतिबद्धता जनाउनुभएको छ ।
आज निकुञ्ज स्थापनाको ५०औँ वर्ष (स्वर्ण जयन्ती) का अवसरमा यहाँ आयोजित विशेष समारोहमा मन्त्री चौधरीले निकुञ्ज र वन्यजन्तुको संरक्षणलाई आधुनिकीकरण गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले परम्परागत शैलीबाट माथि उठाएर वैज्ञानिक र प्रविधिमैत्री बनाइने उल्लेख गर्नुभयो ।
मन्त्री चौधरीले निकुञ्जको ५० वर्षे यात्रालाई बर्दियाली जनता र प्रकृतिबीचको सहअस्तित्वको महत्वपूर्ण इतिहासका रूपमा चित्रण गर्नुभयो । “पाँच दशकअघि वन्यजन्तुको सुरक्षित बासस्थान बनाउने उद्देश्यले स्थापना गरिएको निकुञ्ज आज विश्वका लागि जीवन्त सङ्ग्रहालयका रूपमा विकास भएको छ”, उहाँले भन्नुभयो ।
मन्त्री चौधरीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुको संरक्षण गर्नु सरकारको मात्र दायित्व नभई स्थानीय समुदाय, साझेदार संस्था र निजी क्षेत्रको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय समुदायको सक्रिय सहभागिताबिना निकुञ्जको दिगो संरक्षण सम्भव नहुने धारणा राख्नुभयो ।
वन्यजन्तु संरक्षणका क्रममा उत्पन्न मानव-वन्यजन्तु द्वन्द्वलाई मुख्य चुनौतीका रूपमा रहेका उल्लेख गर्दै मन्त्री चौधरीले जनताको सुरक्षा र जीविकोपार्जनलाई प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो । “वन्यजन्तुको संरक्षणसँगै मानव जीवन र सम्पत्तिको सुरक्षालाई समेत समान रूपमा ध्यान दिँदै प्रभावकारी योजना बनाइछ”, उहाँले भन्नुभयो ।
निकुञ्जबाट प्राप्त हुने लाभ स्थानीय बासिन्दाको जीवनस्तरसँग प्रत्यक्ष रूपमा जोडिनुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले त्यसको न्यायोचित वितरण गरिने बताउनुभयो । आगामी दिनमा वैज्ञानिक अध्ययन, प्रविधिको प्रयोग तथा युवाको सक्रिय परिचालनमार्फत संरक्षणलाई थप प्रभावकारी बनाइने उहाँको भनाइ छ । “प्रकृति हाम्रो मात्र नभई भावी पुस्ताको सम्पत्ति भएकाले यसको संरक्षण हाम्रो साझा जिम्मेवारी हो”, मन्त्री चौधरीले उल्लेख गर्नुभयो ।
सो अवसरमा निकुञ्ज संरक्षणमा योगदान पुर्याउने कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा संरक्षणकर्मीलाई सम्मान गरिएको थियो । सरकारले मध्यवर्ती क्षेत्रको विकास, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा अवैध गतिविधि नियन्त्रणका लागि आवश्यक नीति तथा कानुन निर्माण गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














