म्याग्दी, १७ वैशाखः


जिल्लास्थित बेनी नगरपालिका-४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई सीप सिकाउने उद्देश्यले कपाल काट्ने तालिम सञ्चालन गरिएको छ । बेनी नगरपालिकाको ‘हामी सक्छाैँ, हामी गर्छौं’ कार्यक्रममार्फत सरस्वती माविसँगको सहकार्यमा विद्यार्थीलाई कपाल काट्नेसम्बन्धी आधारभूत सीप सिकाउन तालिम सञ्चालन गरिएको हो ।
यही वैशाख १५ गतेदेखि सुरु भएको तालिम २७ दिनसम्म सञ्चालन हुने प्रधानाध्यापक गुरुदत्त पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा कक्षा ८, ९ र १० का २१ जना विद्यार्थी सहभागी छन् । उनीहरूलाई सैलुन व्यवसायी सञ्जय ठाकुरले विभिन्न ‘डिजाइन’मा कपाल काट्ने सीप प्रदान गर्नुहुनेछ । पठनपाठन हुनेबाहेकको बिहान र बेलुकीको समयमा सीप सिकाउने व्यवस्था मिलाइएको विद्यालय व्यवस्थापनले जनाएको छ ।
दैनिक जीवनयापनमा आवश्यक पर्ने सीपयुक्त जनशक्ति स्थानीयस्तरमा उत्पादन गर्ने, विद्यार्थीलाई पढाइसँगै सीप हासिल गर्न र व्यावसायिक भावनाको विकास गराउन प्रेरित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो ।
तालिममा सहभागी विद्यार्थीले कपाल काट्ने सीपले घरपरिवार र टोलछिमेकमा आफन्तलाई आवश्यक पर्दा काम चलाउन सकिनुका साथै भविष्यमा व्यवसाय सञ्चालनमा पनि सहयोग मिल्ने उहाँको भनाइ छ । बेनी नगरपालिकाले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन ‘हामी सक्छाैँ, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरी चारदेखि निरन्तरता दिँदै आएको छ ।
‘हाउस वायरिङ’, ‘प्लम्बिङ,’ कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने, प्रेसर कुकर बनाउनेलगायत सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १४ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा रु एक लाखका दरले बजेट उपलब्ध गराइएको नगर प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














