काठमाडौँ, १४ असारः


स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकले प्रतिष्ठानमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्दै स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्यमन्त्री मेहताले प्रस्तुत गर्नुभएको ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले विधेयकले स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको नियुक्तिलाई पारदर्शी बनाउने बताउनुभयो । उक्त प्रस्तावसभाको बहुमतबाट स्वीकृत भएको छ ।
सो प्रस्तावमाथिको छलफलमा सांसद अभिषेकप्रताप शाह, पारशमणि गेलाल, विश्वराज पोखरेल, आरेन राई, समीक्षा बास्कोटा, अशोककुमार चौधरी, साजिदा खातुन सिद्धिकी, भाग लिँदै स्वास्थ्य क्षेत्रलाई जनमुखी बनाउन विधेयक केन्द्रित रहेको बताउनुभयो ।
शोक प्रस्ताव पारित
बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उहाँ नेपाली कांग्रेसतर्फबाट २०५६ को आमनिर्वाचनमा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित हुनुभएको थियो ।
पूर्वशिक्षा राज्यमन्त्री र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री खरेलको ८० वर्षको उमेरमा यही असार ७ गते उपचारका क्रममा निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १८ गते बिहान ११ बजे बस्नेछ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










