काठमाडौँ, १६ असार


: सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताउनुभएको छ । चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानुन, नीति र कार्यक्रममार्फत उद्योगलाई सुदृढ बनाउन सरकार तयार रहेको बताउनुभयो ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले चलचित्र विकास बोर्डले यस क्षेत्रको अभिभावकीय भूमिका बहन गर्नुपर्नेसमेत आवश्यकता औँल्याउनुभयो । बोर्डका योजना, कार्यक्रम र बजेटले प्रत्यक्ष रूपमा चलचित्र उद्योगलाई कसरी लाभ पु¥याउँछ भन्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले चलचित्र क्षेत्र समृद्ध र सन्तुष्ट भएमा मात्रै बोर्डको सफलता अर्थपूर्ण हुने धारणा राख्नुभयो । बोर्डले आगामी आर्थिक वर्षका लागि बजेट बनाइरहेको परिप्रेक्ष्यमा चलचित्रकर्मीको भावना समेट्नेगरी योजना बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।
संसद्मा विचाराधीन रहेको चलचित्र विधेयकलाई समयसापेक्ष, व्यावहारिक र चलचित्र उद्योगको वास्तविक आवश्यकताअनुकूल बनाउन सबै सरोकारवालासँग सुझाव लिइने पनि सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ छ । “चलचित्र विधेयकमा यस क्षेत्रका सरोकारवाला सबैको सुझाव आवश्यक छ । चलचित्रकर्मीका अहिलेका आवश्यकता र चाहनालाई सम्बोधन गर्ने बलियो कानुनी दस्तावेज तयार गर्न सबैले आआफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्छ”, उहाँले भन्नुभयो । चलचित्र क्षेत्रले अपेक्षा गरेअनुसारको ऐन निर्माण गर्न सरकार प्रतिबद्ध रहेको दोहो¥याउँदै उहाँले निरन्तर संवाद र सहकार्यबाट मात्र प्रभावकारी कानुन बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
चलचित्रकर्मीसँग नियमित छलफल गर्दै आवश्यक नीतिगत र संरचनात्मक सुधार अघि बढाइने सञ्चारमन्त्री डा तिमिल्सिनाले स्पष्ट पार्नुभयो । उहाँले नेपाली चलचित्र उद्योगले कठिन परिस्थितिका बाबजुद निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै त्यसको श्रेय अग्रज चलचित्रकर्मीको अथक योगदानलाई दिनुभयो । “पुराना पुस्ताका चलचित्रकर्मीको निरन्तर सङ्घर्ष र समर्पणकै कारण नेपाली चलचित्र आजको अवस्थासम्म आइपुगेको हो”, उहाँले भन्नुभयो । साथै चलचित्र क्षेत्रको इतिहास, विकासक्रम र योगदानलाई दस्तावेजीकरण गर्न अनुसन्धानमा आधारित लेख, पुस्तक तथा अध्ययन प्रकाशनमा पनि जोड दिन आवश्यक रहेको धारणा राख्नुभयो ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले लोकतान्त्रिक व्यवस्थामा प्रत्येक क्षेत्रले नागरिकको विश्वास जित्नुपर्ने उल्लेख गर्दै चलचित्र क्षेत्र त्यसबाट अलग रहन नसक्ने बताउनुभयो । विभिन्न लोकतान्त्रिक आन्दोलनमा चलचित्र क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुहुँदै उहाँले यस क्षेत्रले नागरिकको आशाअनुसार काम गर्न सक्नुपर्ने बताउनुभयो । चलचित्र उद्योगलाई आर्थिक रूपमा अझ सक्षम बनाउन चलचित्रकर्मीले स्वस्थ प्रतिस्पर्धा, पारस्परिक सहयोग र सहकार्यको संस्कृतिलाई बलियो बनाउन आग्रह गर्नुभयो । “एक–अर्कालाई सहयोग गरेर अघि बढ्नुहोला । चलचित्र उद्योग बलियो भयो भने त्यसको प्रत्यक्ष लाभ कलाकार, प्राविधिक, निर्माता, वितरकदेखि राज्यसम्म सबैलाई पुग्छ”, उहाँले भन्नुभयो ।
समारोहमा सञ्चार सचिव लक्ष्मी कुमारी बस्नेतले नेपाली चलचित्रलाई अन्तरर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन गुणस्तरीय सामग्री उत्पादन, आधुनिक प्रविधिको प्रयोग तथा प्रभावकारी प्रवर्द्धन आवश्यक रहेको धारणा राख्नुभयो । नेपाली चलचित्रको विश्वव्यापी पहुँच विस्तारका लागि सरकार, बोर्ड र निजी क्षेत्रबीच अझ सुदृढ सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नयाँ चलचित्र विधेयक निर्माणको चरणमा रहेकाले सम्पूर्ण सरोकारवालाले सक्रिय रूपमा सुझाव दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । चलचित्र क्षेत्रको अनुभव र व्यावहारिक पक्ष समेटिएको ऐनले मात्र उद्योगलाई दीर्घकालीन रूपमा लाभ पु¥याउने विश्वास व्यक्त गर्दै उहाँले सबै क्षेत्रबाट रचनात्मक सुझावको अपेक्षा रहेको बताउनुभयो ।
अध्यक्ष डीसीले वरिष्ठ चलचित्रकर्मीको सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । आगामी आर्थिक वर्षका लागि चलचित्र विकास बोर्डको बजेट पनि चलचित्र उद्योगमैत्री र प्रभावकारी रूपमा आउने विश्वास व्यक्त गर्दै उहाँले बोर्डले चलचित्र क्षेत्रको संस्थागत विकास, प्रविधि विस्तार तथा अन्तरराष्ट्रिय पहुँच बढाउन थप कार्यक्रम अघि बढाउने बताउनुभयो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










