काठमाडौँ, ७ असोज :

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु सङ्कटको जोखिम पुष्टि गरेको भन्दै विश्वसमुदायको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत साधारण सत्रको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई नेपालसहित हिमाली मुलुक बढी प्रभावित भएको बताउनुभयो । यसरी तापक्रम वृद्धि भई हिमनदी पग्लनेक्रम बढीरहे विश्वले अझै ठूलो समस्या झेल्नुपर्ने उहाँले बताउनुभयो ।

महासचिव गुटेरेसले तीन वर्षअघि नेपाल भ्रमणका क्रममा हिमनदी तीव्र गतिमा पग्लिरहेको भन्दै विश्व समुदायलाई चेतावनी दिनुभएको थियो । उहाँले नेपालको भोटेकोशी बाढीजस्ता विपद्ले जलवायुजन्य समस्यालाई वास्तविकतामा परिणत गरेको स्पष्ट गर्नुभयो ।

“तीन वर्षअघि नेपालको हिमालबाट मैले विश्वको छाना भत्किँदै गएको चेतावनी दिएको थिएँ”, उहाँले भन्नुभयो, “त्यतिबेलाको चेतावनीलाई अतिरञ्जित ठान्नेहरू भए पनि पछिल्ला घटनाले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको पुष्टि गरेको छ ।”

महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम अब भविष्यको विषय नभई वर्तमानको वास्तविकता बनिसकेको स्पष्ट गर्नुहुँदै विश्वव्यापी कार्वन उत्सर्जनमा न्यून योगदान गर्ने मुलुकहरूले नै यसको ठूलो मूल्य चुकाइरहेको उल्लेख गर्नुभयो ।

उहाँले जलवायु न्यायको आवश्यकता औँल्याउँदै प्रदूषण गर्नेहरूले नै त्यसको मूल्य तिर्नुपर्ने र जलवायुजन्य विपद्बाट प्रभावित जोखिममा रहेका मुलुकले क्षतिपूर्तिस्वरुप न्याय तथा आवश्यक वित्तीय सहयोग पाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

“जलवायु परिवर्तनका कारण हुने हानि तथा क्षति सम्बोधन गर्न स्थापना गरिएको कोषमा पर्याप्त रकम छैन । विकसित मुलुकहरूलाई जलवायु वित्तसम्बन्धी आफूले गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दछु”, गुटेरेसले भन्नुभयो, “जलवायु अनुकूलन वित्तलाई तीन गुणा वृद्धि गर्न र हानि तथा क्षति कोषमा थप स्रोत परिचालन गर्न आह्वान गर्दछु ।”
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ