७ मंसिर, बागलुङ । बागलुङको धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति गण्डकी कलश निर्माणले गति लिएको छ ।

बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा संघीय सरकारको बहुवर्षीय योजनाअन्तर्गत सात करोड रुपैयाँ लागतमा कलश निर्माण भइरहेको हो । १३ तलाको संरचना निर्माण गरिने कलशको हाल तेस्रो तलाको ढलान तयारी भइरहेको छ ।

स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको परिकल्पनामा २०७१ सालमा कलश निर्माणको शिलान्यास गरिएको थियो । बजेट अभावका कारण लामो समय रोकिएको निर्माण पछिल्लो एक वर्षदेखि पुनः अघि बढेको हो । निर्माणको बाहिरी संरचना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कलश निर्माणका लागि तयार गरिएको डीपीआरअनुसार सम्पूर्ण आयोजना सम्पन्न गर्न ४५ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान छ । सरकारी सहयोग, महायज्ञ तथा भक्तजनबाट प्राप्त दान र सहयोगबाट निर्माण पूरा गर्ने योजना रहेको पञ्चकोट विकास परिषद्ले जनाएको छ ।

कलशलाई जलसम्पदा संरक्षण र गण्डकी सभ्यताको महत्त्व झल्काउने प्रतीकका रूपमा विकास गर्ने योजना छ । निर्माण सम्पन्न भएपछि पञ्चकोटको धार्मिक तथा पर्यटकीय आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ । अहिले पनि पञ्चकोटमा दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ