६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक भ्रमणको पहिलो दिन विभिन्न भेटवार्ता र छलफलमा बितेको छ।
प्रधानमन्त्री बनेपछि बालेन शाहको यो पहिलो औपचारिक भारत भ्रमण हो। करिब तीन महिनादेखि तयारी गरिएको भ्रमण अन्तिम समयमा आएर सम्भव भएको सरकारी स्रोतले जनाएको छ।



आइतबार अपराह्न नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहलाई भारत सरकारका राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए। भारतले उनको भ्रमणलाई राजकीय भ्रमणका रूपमा मान्यता दिएको छ।
दिल्ली पुगेपछि प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग करिब २५ मिनेट भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहयोग तथा द्विपक्षीय विषयमा छलफल भएको सरकारी स्रोतले जनाएको छ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा आर्थिक सहायता, व्यापार तथा पारवहन, हवाई रुट, ऊर्जा तथा पूर्वाधार र कनेक्टिभिटी लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। सरकारी स्रोतका अनुसार भ्रमणका एजेन्डामा केही फेरबदल भए पनि मुख्य विषयहरू भने यिनै छन्।
यसैबीच अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले भारतको निजी क्षेत्रलगायत विभिन्न पक्षसँग संवाद गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री आफैं निजी क्षेत्रसँगको संवादमा सहभागी नहुने भएका छन्।
प्रधानमन्त्री शाहले सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक तथा एक्लाएक्लै भेटवार्ता गर्नेछन्। त्यस क्रममा नेपाल–भारतबीच विभिन्न समझदारीपत्र आदानप्रदान हुने तयारी छ। दुई देशबीच संयुक्त दृष्टिपत्रसमेत अघि बढाउने तयारी गरिएको छ।
सोमबार प्रधानमन्त्री शाहले महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि मोदीसँग वार्ता, संयुक्त पत्रकार सम्मेलन तथा दिवाभोजमा सहभागी हुने कार्यक्रम छ। उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेट गर्नेछन्।
भ्रमणको मुख्य उपलब्धि भने दोस्रो दिन हुने प्रधानमन्त्री शाह र मोदीबीचको वार्ता तथा त्यसबाट हुने सहमतिले निर्धारण गर्ने देखिएको छ। नेपालमा जेनजी आन्दोलनपछि बनेको निर्वाचित सरकारप्रति भारतको दृष्टिकोण र दुई देशबीचको आगामी सम्बन्धका विषयमा पनि मोदी–शाह भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ।
यसअघि सामाजिक सञ्जाल प्रयोगकर्ता तथा काठमाडौं महानगरपालिकाका मेयरका रूपमा भारतप्रति आलोचनात्मक धारणा राख्दै आएका शाहले प्रधानमन्त्रीका रूपमा भारतसँगको सम्बन्धलाई कसरी अघि बढाउँछन् भन्ने विषयमा पनि चासो रहेको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













