वीरगञ्ज, १२ फागुन
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाको जतिसक्दो छिटो फछ्र्योट गरेर न्यायालयको सुधारमा लागिरहेको बताउनुभएको छ ।

नेपाल बार एसोसिएसनले आयोजना गरेको कानुन व्यवसायी महिलाको ३० औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उहाँले सर्वोच्च अदालतमा पाँच जना न्यायाधीशको कमी भएर १६ जना मात्रै न्यायाधीशले काम गर्दा पनि मुद्दा फछ्र्योटमा तीव्रता दिएको बताउनुभयो । सर्वोच्च अदालतका ३० हजार मुद्दा करिब २८ हजारमा झारेको जानकारी दिँदै कामु प्रधानन्यायाधीश कार्कीले भन्नुभयो, “समयमा इजलास बस्ने र एक मिनेट पनि समय खेर फाल्दैनौँ, जतिसक्दो छिटो न्याय दिन सुधारको अभियानमा लागेका छौँ ।”

उहाँले पाँच वर्षभित्रका पुराना मुद्दालाई शून्यमा झार्ने र दुई वर्षभित्र उच्च अदालतलाई पनि शून्यमा झार्ने काम गरिरहेको बताउनुभयो । पाँचवर्ष पुराना मुद्दामध्ये चार हजार आठ मुद्दालाई छिटो फछ्र्योट गर्न काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले समयमा न्यायाधीश नियुक्ति हुन नसक्दा मुद्दा फछ्र्योटमा समस्या भएकोसमेत बताउनुभयो ।

महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले प्रधानन्यायाधीश नियुक्तिका लागि प्रक्रिया चाँडै अघि बढने विषयमा प्रधानमन्त्री र सभामुखसँग सल्लाह भइरहेको बताउनुभयो । उहाँले यस विषयमा महान्यायाधिवक्ताले गर्नसक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महान्यायाधिवक्ता डा पोखरेलले कानुन व्यवसायी महिलाले पेसागतरूपमा उत्कृष्ट बन्ने नारालाई सार्थकता दिन योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ