देशको राज परिवारसँग सम्बन्धित कानुनमा संशोधनको प्रस्ताव गरेर संविधान उल्लंघन गरेको भन्दै थाइल्याण्डको संवैधानिक अदालतले प्रगतिशील ‘मुभ फरवार्ड पार्टी’लाई भंग गर्न आदेश दिएको छ । थाइल्याण्डको सबैभन्दा ठूलो दल मुभ फरवार्ड पार्टीले संविधान संशोधन प्रस्ताव गरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै अदालतले पार्टीलाई भंग गर्ने आदेश दिएको हो ।
थाइल्याण्डको संवैधानिक अदालतले भनेको छ– मुभ फरवार्ड पार्टीले देशको राज परिवारसँग सम्बन्धित कानुनमा संशोधनको प्रस्ताव गरेर संविधान उल्लंघन गरेको छ । कानुनमा संशोधन गरेर संवैधानिक राजतन्त्रलाई फ्याँक्ने प्रयास गरेको ठहर अदालतको छ ।


सन् २०२३ को राष्ट्रिय चुनावमा जित हासिल गरेर मुभ फरवार्ड पार्टी सबैभन्दा ठूलो दल बनेको थियो । तर उसले सरकारको नेतृत्व गर्न भने पाएन र विपक्षमा बसेको छ ।
सो पार्टीलाई जिताउने श्रेय चर्चित पूर्वनेता पिटा लिमजारोनरात र हालका पार्टी प्रमुख चौथावत तुलाथनलाई दिने गरिन्छ । यी दुवै नेताहरु र पार्टीको प्रमुख कार्यकारी समितिलाई अदालतले १० वर्षसम्म राजनीतिक गतिविधि गर्न प्रतिबन्धसमेत लगाएको छ ।
सो पार्टीले देशको संविधान र कानुनमा संशोधन आवश्यक रहेको भन्दै अभियान चलाउँदै आएको छ । सो पार्टीले युवा र शहरी मतदाताको मन जितेको थियो ।
सो पार्टीको गतिविधिलाई लक्षित गरी निर्वाचन आयोगले अदालतमा मुद्दा दायरसमेत गरेको थियो । सो मुद्दामा गत जनवरीमा फैसला सुनाउँदै अदालतले कानुनमा बदलावको वकालत गर्न बन्द गर्न आदेश दिएको थियो ।थाइल्याण्डमा कुनै पार्टी भंग भएमा सो पार्टीका सांसदहरुलाई ६० दिनभित्र अरु कुनै दल रोज्नुपर्ने मौका दिइन्छ । अन्यथा उनीहरुको सांसद पद गुम्छ ।
थाइल्याण्डमा राजतन्त्रको आलोचना गर्ने र त्यससँग सम्बन्धित संवैधानिक व्यवस्थाको उल्लंघन गर्नेहरुलाई १५ वर्षसम्म सजायँ हुन सक्ने व्यवस्था छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














