तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दरखाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट (तीजको दिन) निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडिलाेका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ ।

सनातन हिन्दु धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यसै दिनदेखि दिनबाट सुरु हुन्छ । दरखाने दिन परिवार, नातेदार र आफन्तहरू बीचको एकता र मेलमिलापको प्रतीक हो । यस दिन परिवारका सबै सदस्यहरू, आफन्तहरू र साथीहरूलाई आमन्त्रित गरिन्छ । सबैजना एक ठाउँमा भेला भएर भोजन गर्छन्, जसले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।

तीज र दरखाने दिन महिलाहरूका लागि विशेष अवसर हो, जहाँ उनीहरू आफ्नो सुखदुःख बाँड्न सक्छन् । यो दिन महिलाहरूले एकापसमा आत्मीयता साटासाट गरेर सामाजिक, मानसिक र भावनात्मक रूपमा सशक्त बन्ने मौका पाउँछन् । शाब्दिक रूपमा दर भनेको दरो या बलियो भन्ने बुझिन्छ । भोलि व्रत या पूजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको अवस्थामा अघिल्लो दिनको राति दरिलो वा आडिलो खाना खाएर सुत्ने, सकेसम्म ढिलो खाना खाएर सुत्ने चलन थियो, यही चलनलाई ‘दर खाने दिन’ भनिएको हो ।

तीजको दिन भोले बाबाको व्रत बस्दा भोको पेट भयो भने स्वाभाविक रुपमा व्रतालुको ध्यान भोक र भोजनतिर जाने भएकोले पूर्ण ध्यान भगवानमा मात्र जाओस् भन्ने उद्देश्यले अघिल्लै दिन खाइने पौष्टिकताले भरिपूर्ण दरिलो परिकार भोजन गर्ने चलन छ ।

स्थान अनुसार दरखाने परिकारहरू फरक-फरक छन् । त्यस्तै आधुनिकतासँगै परिकारहरूमा पनि फरक आउन थालेको देखिन्छ । हिजोआज तीज आउनुभन्दा हप्तौं अघिदेखि नै दर खाने र खुवाउने कार्यक्रम हुने गर्दछन् ।

परिवारका सबै सदस्यहरू, आफन्तहरू र साथीहरू सबैजना एक ठाउँमा भेला भएर विशेष रूपमा गीतसङ्गीत, नृत्य र भजनकीर्तनको पनि आयोजना गरिन्छ । यो दिन पारिवारिक वातावरणलाई अझ रमाइलो बनाउँछ । यो समयमा परम्परागत गीतहरू पनि गाइन्छन् जसमा दुःख, सुख र भावनाहरू व्यक्त हुन्छन् ।

तीजमा माइतीले छोरीचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार खुवाउने चलन छ । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरूले योग्य पतिको माग गर्दै भोलिपल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दूधबाट निर्माण मिष्ठान्न परिकार तयार गरी दर खाने चलन छ । तीजमा महिलाहरूले दरका रूपमा खीर, पुरी, तरकारी, सेल रोटी, मिठाइहरू आदि बनाउने परम्परा पनि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ