यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस संक्रमितको संख्या ५३ पुगेको हो ।
गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको देखिएको छ । गत वर्ष जापानी इन्सेफ्लाइटिस संक्रमणबाट ६ जनाको मृत्यु भएको थियो । यस वर्ष कैलालीमा तीन, सुनसरीमा दुई र सर्लाही, पाल्पा, चितवन तथा कपिलवस्तुमा एक–एक जनाको मृत्यु भएको खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।


‘साउन र भदौ महिना जेइ को संक्रमणदर उच्च हुन्छ । तराई क्षेत्रमा आउट ब्रेक भएको छ,’ डा. गौतमले अनलाइनखबरसँग भने, ‘जेइ को संक्रमणको मृत्युदर पनि उच्च छ । रोकथामका लागि काम थालिसकेका छौं ।’
गत वर्षको तुलनामा यस वर्ष संक्रमितको संख्या कम भए पनि मृत्युदर बढेको महाशाखाले जनाएको छ । मृत्यु हुनेमा धेरैजसो जापानी इन्सेफ्लाइटिस विरुद्धको खोप नलिएका व्यक्तिहरू छन् । संक्रमितमध्ये २९ जना १५ वर्षमुनिका बालबालिका छन् ।‘जेइको विरुद्धमा खोप दिइरहेका छौं । अधिकांश खोप नलगाउने मानिसलाई मृत्यु पनि भइरहेको छ,’ डा. गौतमले भने ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














