वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्तिनगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । अंकित मूल्य भन्दा दोब्बर मूल्यमा मिनरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो । जिम्बु थकालीले उपभोक्ताहरुलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई १०० रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेल सहितको टोलीले रेष्टुरेण्टमा अनुगमन गरेको हो ।

महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताए । ‘जिम्बु थकाली रेष्टुरेण्टमा पानीको धेरै मूल्य लिएको गुनासो आयो । के रहेछ भनेर आफैँ खाना खान भनेर आएका थियौं । हामी रेष्टुरेण्टमा आयौं । पानी मागिएको थिएन । पानी ल्याएर दिनुभयो । पानी र खाजा मःमः खाऔं । एक बोतल पानीको अंकित मूल्य ३५ रुपैयाँ छ । खुद्रा मूल्य भन्दा दोब्बर शुल्क लिएको पाइयो । बढी मूल्य लिएको आधारमा वाणिज्यले कारबाही गर्छ’, उनले भने ।

उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरुप जिम्बु थकाली  रेष्टुरेण्टलाई  ३ लाख रुपैयाँ जरिवानासहित सचेत गराएको उनले बताए । अन्य रेष्टुरेन्टले पनि अंकित मूल्य भन्दा बढी लिए विभागमा उजुरी गर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ