राजधानी काठमाडौं भित्रिने र बाहिरिने प्रमुख नाकाका सडकहरु ठप्पै भएका छन् । आज तेस्रो दिन पनि काठमाडौंबाट गाडीहरु बाहिरिएका छैनन् । भित्रिने क्रममा रहेका गाडीहरु भने बीचबाटोमै अलपत्र छन् । पश्चिमतर्फबाट काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाको अवस्था सबैभन्दा खराब छ । झ्याप्ले खोलानेर ठूलो पहिरो झर्दा केही गाडीहरु पुरिएका छन् । त्यहाँको पहिरो पन्छाउने काम भइरहेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले धादिङ र काठमाडौं दुवैतिरबाट नागढुंगाको पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए । ‘झ्याप्ले खोलामा ठूला–साना ३/४ वटा गाडीहरु पुरिएका छन्, थुप्रै गाडीहरुमा क्षति पुगेको छ,’ प्रवक्ता खड्काले भने, ‘पहिरो पन्छाएर बाटो खुलाउन कम्तिमा आज मध्याह्नसम्म लाग्छ ।’

झ्याप्ले खोलामा पुरिएका दुईवटा बसबाट हिजो बेलुका १४ जनाको शव निकालिएको थियो । आज पनि त्यहाँ पुरिएको अर्को बसलाई निकाल्ने प्रयास भइरहेको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट पूर्वतिर र दक्षिणतिर जाने सडकमा पनि पहिरोले क्षति पुगेकाले सवारी आउजाउ ठप्प भएको छ ।

उत्तरतर्फ (नुवाकोट)तिर जाने सवारी साधनहरु टोखा, झोर हुँदै चलिरहेका छन् । तर त्यो बाटोमा अत्यावश्यक सवारी साधनमात्र चलिरहेका ट्राफिक प्रहरीले सञ्चालन गरेको एफएमले जनाएको छ । तर उत्तरतिर जाने सडक पनि पहिरोले गर्दा ठाउँ–ठाउँमा अवरोध छ । अविरल वर्षासँगै झरेको पहिरोले बाटो बन्द भएपछि तीन दिनदेखि काठमाडौंबाट लामो दुरीका सवारी साधन छुटेका छैनन् ।

कान्तिलोकपथ सडक खण्डको बकैया गाउँपालिका-१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आपचौरमा पहिरोको कारण र भिमफेदी गाउँपालिका-८ स्थित वाग्मती खोलाको पुल कटान गरी सडक पूर्ण रुपमा अवरोध भएको छ ।

दक्षिणकाली छैमले सिस्नेरी सडक खण्डअन्तर्गत ईन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्याङमा पहिरो खसी कुलेखानी-फाखेल-फर्पिङ बाटो पुर्ण रुपमा अवरोध भएको प्रहरी निरीक्षक सापकोटाले बताए । दक्षिणकाली छैमले सिस्नेरी सडक खण्डकै ईन्द्रसरोवर गाउँपालिका-२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी-सिस्नेरी-फर्पिङ बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ