प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक जात्रा र पर्वहरुमा जात्रामा भड्काउ खालका गतिविधि हुन थालेको बताएका छन् । उनले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने भन्दै त्यसलाई रोक्नुपर्ने बताए ।
प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताएका हुन्। ‘राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ तर संस्कृतिमा अधपतन भएमा यसलाई उठाउन वर्षाैं लाग्न सक्छ। यसतर्फ हामी सचेत हुनुपर्छ,’ उनले भने।प्रधानमन्त्री ओलीले इन्द्रजात्राजस्ता पर्वहरूमा भएका कतिपय भड्कावपूर्ण गतिविधिप्रति असन्तुष्टि राखेको उनको सचिवालयले जनाएको छ।


प्रधानमन्त्री ओलीले नेवारी संस्कृतिभित्र आदिवासी, शास्त्रीय र अत्याधुनिक वाद्यवाधन तथा विशेष धूनहरू रहेको र यसको संरक्षणमा भइरहेका प्रयासको प्रशंसा गरे।
समितिका अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपाल संवतलाई सरकारी कामकाजको प्रयोगमा ल्याउन २०८० कात्तिक २७ गतेको मन्त्रिपरिषदबाट भएको निर्णयलाई सबै तह र निकायमा कार्यान्वयनका लागि निर्देशित गर्न माग गरे।
उनले राष्ट्र बैंकबाट निष्कासन हुने नोटमा नेपाल संवतको पनि प्रयोग गर्न र विदेशस्थित नेपाली नियोगहरूमा नेपाल संवतको नयाँ वर्षमा ‘नेपाल डे’ मनाउन आग्रह गरे। राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले सरकारी निकायमा नेपाल संवतको प्रयोगको अवस्थाबारे अनुगमनको व्यवस्था गर्न सुझाव दिए। सरकारले २०६५ मा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो।
यस वर्षको नेपाल संवत् ११४५ कछलाथ्व पारु यही कात्तिक १७ गते मनाइँदैछ। उक्त दिन बिहान भक्तपुरको मध्यपुर थिमीस्थित साख्याको प्रतिमामा माल्यार्पण र काठमाडौंको वसन्तपुरमा विशेष कार्यक्रम हुनेछ। समारोह समिति र प्रतिष्ठानले ती कार्यक्रममा प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथ्यताका लागि निमन्त्रणा दिएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














