काठमाडौं मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछाने बीच जारी छलफललाई पूर्णता दिन सहकर्मीहरु सक्रिय भएका छन् । रवि र बालेनबीच दुई चरण वार्ता गराएका असीम शाह, आसिफ शाह र कुमार बेनले विस्तृत सहमतिको खाका तयार पार्नेगरी अर्को छलफलको गृहकार्य थालेका हुन् ।
निकट स्रोतले दिएको जानकारी अनुसार आज रातिसम्म संवादले अन्तिम टुंगो पाउने छ । तत्कालै पार्टी एकता वा सहकार्यको घोषणा हुने उनीहरुले बताएका छन् ।निकटस्थहरुले बताएअनुसार, अब एकीकृत पार्टीमा बालेनको बरियता दोस्रो हुनेछ । अनि बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने पुरानो प्रतिबद्धतामा रवि कायम भएका छन् ।


रविसँग यसअघिका छलफल टुंगोमा पुग्ने संकेत नपाएपछि बालेनले आफ्ना साथी कुमार बेनको ज्वागल निवासमा आफूनिकट देश विकास पार्टीका लागि समर्थन माग्दै भेटघाट तीव्र पारेका थिए । ७ पुसको राति कमलपोखरीमा चलेको छलफलमा उठेका विषयलाई रविले बाहिर भिन्नै तरिकाले प्रस्तुत गरिदिएको भन्दै बालेन बिच्केका थिए । उनले अब देशविकास पार्टीको ब्यानरमा आफू अघि बढ्ने भन्दै सल्लाह, परामर्श लिन थालेपछि रवि झस्केका थिए ।
रवि र बालेनबीच बिहीबार अपराह्नसम्म चलेको भेटमा सम्भावित एकता प्रक्रियाबारे कुरा भएको थियो । पार्टीको नाम, चुनाव चिह्न, उम्मेदवार अनुपात आदिबारे छलफल चलेको थियो । रविले रास्वपामा यसअघि नै पर्याप्त आकांक्षी रहेकाले ७०–३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची तयार पार्नुपर्ने प्रस्ताव गरेका थिए । त्यसमा छलफल गरेर संख्या तलमाथि गर्न सकिने उनको प्रस्ताव थियो ।
बालेनले भने समानुपातिक संख्यामा पर्याप्त चासो नदिएको बुझिएको छ । यसका लागि कुमार बेन, असीम शाह लगायतले काम गर्ने, त्यसै संख्यालाई बालेनले सहमति जनाउने बुझिएको छ । हिजो ज्वागलमा बालेनसँग भेटपछि बाहिरिएका लामिछानेलाई सन्चारकर्मीले लौरी कि घण्टी भनी सोध्दा उनले ‘समयले बताउने’ जवाफ दिएका थिए । यद्यपि रास्वपाको चुनाव चिह्न घण्टी यसअघि आम रुपमा स्थापित भइसकेकाले त्यस अन्तर्गत अघि बढ्न बालेनलाई समस्या नभएको स्पष्ट जवाफ प्राप्त गरेका थिए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














