राँझा (बाँके), ७ कात्तिकः बाँकेको दुर्गम मानिने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको ग्रामीण क्षेत्रमा अटो रिक्सा सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवागमनमा सहज भएको छ ।



छोटो दूरीको यात्राका लागि सवारीसाधन नपाइने समस्याबाट हैरान भएका राप्ती सोनारी र नरैनापुरवासीलाई अटो रिक्सा सञ्चालनमा आएपछि गन्तव्यसम्म पुग्न सजिलो भएको नरैनापुर–५ जमुनीगाउँकी निवासी टीका बुढाथोकीले बताउनुभयो ।
उहाँका अनुसार, साँझ र बिहान यात्रुबाहक बस जाने आउने गर ेपनि अन्य समयमा आवागमनमा सास्ती व्यहोर्नुपर्ने नरैनापुरवासीको बाध्यता अटो रिक्साले अन्त्य गरेको छ । नेपालगञ्ज–बघौडा हुलाकी सडक पक्की भएसँगै नरैनापुरमा सञ्चालनमा ल्याइएको अटो रिक्सा स्थानीयवासीको यात्राको सारथी बनेको छ ।
सदरमुकाम नेपालगञ्जबाट नरैनापुर ४४ किलोमिटर टाढा भए पनि बस कुरेर बस्नुपर्ने बाध्यता हटेको छ । हिजोआज रिक्सा चढेर एक घण्टामै नेपालगञ्ज आउन सकिने नरैनापुर–६ निवासी सोहनलाल यादवले बताउनुभयो । “रिक्सामा चढेपछि न घामपानीले प्रभावित पार्छ, न त धेरै समय नै लाग्छ । सजिलोसँगै गन्तव्यमा पुुग्न सकिन्छ”, यादवले भन्नुभयो, “नरैनापुरमा अटो रिक्सा सञ्चालनमा आएपछि स्थानीयवासीलाई धेरै सहयोग पुुगेको छ ।”
नरैनापुर गाउँपालिकाभित्रका गङ्गापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर र कटकुइँयाका गाउँबस्तीसम्म आवागमनमा अटो रिक्साले सहज बनाएको छ । साइकल वा मोटरसाइकलजस्ता निजी सवारीसाधन नहुने सर्वसाधारणलाई गाउँपालिकाभित्रैका एक वडाबाट अर्को वडामा आउनजान अटो रिक्साले ठूलो सुविधा मिलेको छ ।
अटो रिक्सा सञ्चालनमा आएपछि बालबालिका, अशक्त, अपाङ्गता र ज्येष्ठ नागरिक तथा बिरामी प्रत्यक्ष लाभान्वित भएका छन् । महिला, विद्यार्थी, शिक्षक र कर्मचारीले पनि रिक्साको उपयोग गर्दै आएका छन् । एक घण्टा पैदल हिँड्नुुपर्ने यात्रा १५÷२० मिनेटमा पुगिने गरेको राप्ती सोनारी –५ स्थित भुवर भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतबहादुर विष्टले बतटाउनुभयो ।
उहाँले नेपालगञ्जको सल्यानीबागबाट राप्ती सोनारीको फत्तेपुर हुँदै अगैयासम्म पुग्ने अटो रिक्साले स्थानीयवासिन्दा तथा कामकाजी कर्मचारीलाई धेरै सहज भएको बताउनुभयो ।
अटो रिक्सा चलाएर नागरिकलाई यातायात सेवा दिनुका साथै गाउँमै राम्रो आम्दानी गर्दै आएको नरैनापुर–१ कटकुइँया निवासी अटोचालक जाकीर अलीले बताउनुभयो । चार सिट क्षमताको अटो रिक्साले नरैनापुरको सीमावर्ती क्षेत्र सुइँया बघौडादेखि नेपालगञ्जसम्मको प्रतिव्यक्ति रु २५० र गाउँपालिका केन्द्र नरैनापुरदेखि रु २०० भाडा लिने गरेको अलीको भनाइ छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













