महेन्द्रनगर (धनुषा), ३० फागुनः


मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले देशमा शान्तिसुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रहरी संरचना तथा पूर्वाधारको विकास अत्यन्त आवश्यक रहेको बताउनुभएको छ । मधेस प्रदेश प्रहरी कार्यालयमा निर्माण हुन लागेको प्रहरी ब्यारेक भवनको आज शिलान्यास गर्दै उहाँले प्रहरी राष्ट्रको सुरक्षाको महत्वपूर्ण अङ्ग भएकाले प्रहरीलाई सहज रूपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री यादवले प्रहरी राष्ट्रको सुरक्षामा सदैव अग्रपङ्क्तिमा खटिने महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै प्रहरी कर्मचारीको कार्यक्षमता अभिवृद्धिका लागि उहाँहरूलाई सुरक्षित, व्यवस्थित र सुविधासम्पन्न वातावरण उपलब्ध गराउनु जरुरी रहेको बताउनुभयो । “प्रहरीले जनताको शान्तिसुरक्षा कायम गर्न निरन्तर मेहनत गरिरहेका हुन्छन् । त्यसैले प्रहरी कर्मचारीको आवास तथा आधारभूत सुविधामा सुधार ल्याउनु प्रदेश सरकारको दायित्व हो”, उहाँले भन्नुभयो । मुख्यमन्त्री यादवले प्रदेश सरकार प्रहरी सङ्गठनलाई आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले मन्त्रालयमा चालु आर्थिक वर्षका लागि रु ७२ करोड बजेट रहेको जनाउँदै प्रहरीलाई आधुनिक तथा सुविधासम्पन्न बनाउनका लागि विनियोजित बजेट व्यवस्थापन प्रभावकारीरूपमा गरिँदै आइएको उल्लेख गर्नुभयो ।
सो अवसरमा मधेस प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले ब्यारेक तथा भान्सा घर र भवन निर्माणले प्रहरी कर्मचारीको दैनिक जीवन र कार्यसम्पादनमा ठूलो सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले हाल कतिपय प्रहरी इकाइमा आवश्यक भौतिक पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै नयाँ भवन निर्माणले प्रहरी कर्मचारीको बसोबास, भोजन व्यवस्था तथा सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने धारणा राख्नुभयो । प्रमुख थपलियाले प्रदेश सरकारबाट सुरक्षा निकायको पूर्वाधार विकासमा देखिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर अघि बढ्ने अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू, प्रहरी कर्मचारीहरू तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरूको उपस्थिति थियो । करिब रु ११ करोड चार लाखको लागतमा निर्माण हुन लागेको प्रहरी ब्यारेक पाँच तल्लाको हुनेछ । साथै, सो भवनमा ३५ वटा सुविधासम्पन्न कोठासहित भान्साघर पनि निर्माण हुनेछ । निर्माण हुन लागेको ब्यारेक तथा भान्सा घर र भवनले प्रहरी कर्मचारीहरूको आवास, भोजन व्यवस्था तथा कार्य वातावरणलाई थप व्यवस्थित बनाउने विश्वास गरिएको छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














