भैरहवा (रूपन्देही), १३ असार


: भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा शिलान्यास गरिएको छ । भुटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भुटानका धर्मगुरु उप महासङ्घराजा दोर्जे लोपेन रिम्पोछे तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री खड्गराज अधिकारी (गणेश) पौडेलको उपस्थितिमा विशेष धार्मिक विधिअनुसार गुम्बा निर्माणको शुभारम्भ गर्नुभयो हो ।
शिलान्यास कार्यक्रममा भुटानी लामागुरुहरूले धार्मिक अनुष्ठान गर्दै भूमि पूजन गर्नुभएको थियो । गुम्बा निर्माणलाई भुटान र नेपालबीचको सांस्कृतिक, धार्मिक तथा कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने ऐतिहासिक कदमका रूपमा हेरिएको छ ।
भुटान सरकारको गृह मन्त्रालयअन्तर्गत संस्कृति तथा जोङ्खा विकास विभागकी महानिर्देशक म्याक्सुद ओजीले लुम्बिनीमा भुटानी मन्दिर निर्माण सुरु हुनु भुटानका लागि अत्यन्त महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लुम्बिनी परिसरमा नयाँ भुटानी मन्दिर निर्माण कार्य सुरु गर्नका लागि भूमि देवीको आशीर्वाद लिन हामी यहाँ उपस्थित भएका छौँ । यो परियोजनाले भुटानी बौद्ध परम्परा र संस्कृतिलाई बुद्धको जन्मभूमिसँग जोड्नेछ ।”
भुटान सरकार र लुम्बिनी विकास कोषबीच गतवर्ष गुम्बा निर्माणसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । उक्त सम्झौताअनुसार चालु वर्षभित्रै परियोजना सुरु गर्ने प्रतिबद्धता कार्यान्वयन गर्दै निर्माण प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।
परियोजनाको पहिलो चरणअन्तर्गत गुम्बा परिसरको सीमा पर्खाल निर्माण कार्य सम्पन्न भइसकेको छ भने अब मुख्य मन्दिर निर्माणको काम सुरु गरिएको छ । भुटान सरकारले आगामी दुई वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको ओजीले बताउनुभयो ।
प्रस्तावित गुम्बामा भुटानको मौलिक वास्तुकला, धार्मिक कला तथा सांस्कृतिक विशेषतालाई समेटिने बताइएको छ । भुटानी शैलीका संरचना, प्रार्थना कक्ष, सांस्कृतिक प्रदर्शनी क्षेत्र तथा धार्मिक गतिविधिका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछन् ।
महानिर्देशक ओजीका अनुसार गुम्बा निर्माण सम्पन्न भएपछि लुम्बिनी भ्रमणमा आउने विश्वभरका बौद्ध तीर्थयात्री तथा पर्यटकहरूले भुटानी संस्कृति, कला र आध्यात्मिक परम्पराको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।
“एक बौद्ध राष्ट्रका रूपमा हामी हाम्रो विशिष्ट वास्तुकला र बुद्धप्रतिको श्रद्धालाई यहाँ प्रस्तुत गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो, “यसले लुम्बिनीलाई अझ अन्तरराष्ट्रिय र बहुसांस्कृतिक बौद्ध केन्द्रका रूपमा स्थापित गर्न मद्दत पु¥याउनेछ ।”
द्विपक्षीय वार्तामा पर्यटन सहकार्यमा जोड
गुम्बा शिलान्याससँगै नेपाल र भुटानका उच्च सरकारी प्रतिनिधिबीच लुम्बिनीमा द्विपक्षीय भेटवार्ता पनि सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल र भुटानका गृहमन्त्री ल्योन्पे छिरिङबीच भएको छलफलमा पर्यटन, सांस्कृतिक आदानप्रदान तथा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित रहेर विचार विमर्श भएको थियो ।
लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानीन राईका अनुसार वार्ताका क्रममा नेपालले दुई महत्त्वपूर्ण प्रस्ताव भुटानी पक्षसमक्ष राखेको थियो । मन्त्री पौडेलले भुटानको पारो अन्तरराष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबीच सिधा हवाई उडान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कोषका निमित्त सदस्य सचिव राईका नेपाली पक्षले पारो–लुम्बिनी–बोधगया धार्मिक पर्यटन सर्किट विकास गर्न सके दक्षिण एशियाली बौद्ध पर्यटनमा नयाँ सम्भावना सिर्जना हुने धारणा राखेको थियो । हाल भुटानको राष्ट्रिय ध्वजावाहक ड्रक एअरले पारो–काठमाडौँ उडान सञ्चालन गर्दै आएको सन्दर्भमा लुम्बिनीलाई अन्तरराष्ट्रिय बौद्ध गन्तव्यका रूपमा प्रत्यक्ष हवाई सञ्जालमा जोड्नुपर्ने आवश्यकता नेपाली पक्षले औँल्याएको थियो ।
भुटानले विदेशी पर्यटकहरूमाथि लागू गर्दै आएको दिगो विकास शुल्क (एसडीएफ) सम्बन्धी थियो । हाल नेपाली नागरिकहरूले पनि भुटान भ्रमण गर्दा प्रतिव्यक्ति प्रतिदिन १०० अमेरिकी डलर बराबरको शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ ।
नेपालले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई ध्यानमा राख्दै नेपाली नागरिकका लागि उक्त शुल्क हटाउन वा विशेष सहुलियतको व्यवस्था गर्न आग्रह गरेको छ । भारत र बङ्गलादेशका पर्यटकका लागि छुट्टै व्यवस्था रहेको उदाहरण प्रस्तुत गर्दै नेपाली पक्षले नेपाली पर्यटकलाई सहज पहुँच उपलब्ध गराउन आग्रह गरेको थियो ।
भुटानका गृहमन्त्री ल्योन्पे छिरिङले नेपालले उठाएका विषयहरूलाई सकारात्मक रूपमा लिइएको बताउँदै आवश्यक सरकारी तहमा थप छलफल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले लुम्बिनीमा भुटानी गुम्बा निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराएको जग्गा तथा सहयोगप्रति भुटान सरकारको तर्फबाट आभार व्यक्त गर्नुभयो । उहाँले लुम्बिनी र भुटानबीचको धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै बौद्ध सम्पदा संरक्षण, तीर्थ पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य बढाउने प्रतिबद्धता पनि जनाउनुभयो ।
द्विपक्षीय भेटवार्तामा नेपालका तर्फबाट लुम्बिनी क्षेत्रबाट निर्वाचित सांसद तौफिक अहमद खाँन र रूपन्देही–४ बाट निर्वाचित सांसद कन्हैया बनियाको सहभागीता रहेको थियो । यसै गरि भुटानका तर्फबाट नेपालका लागि भुटानका राजदूत मेजर जनरल भेत्सोप नामग्येल, भुटान सरकारका गृह सचिव लगायतको सहभागिता रहेको थियो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










