कर्णाली, १८ असारः


कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ । नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कप्र ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी आज बिहान ११ः३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ दैलेखको साङ्गेतडास्थित कर्णाली नदीमा खसेको थियो ।
उक्त स्थानबाट नामथर र वतन नखुलेका एक जना पुरुषलाई भिरमा अड्केको अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिनुभयो । उद्धारका सामग्रीसहित जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसका जनशक्तिले संयुक्त रूपमा खोज उद्धारको कार्य गरिरहेका उहाँले बताउनुभयो ।
प्रहरी नायब उपरीक्षक विकका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटासहित गोताखोरको टोली सुर्खेतबाट घटनास्थलतर्फ हिँडिसकेको छ । सुर्खेत बसपार्कबाट आज बिहान ८ः०० बजेट छुट्दा पाँच जना सवार रहेको भनिए पनि गाडीमा कति जना थिए भन्ने यकीन नभएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार गाडी ४०० मिटर तल खस्दा कर्णाली नदीमा डुबेको अनुमान गरिएको छ । गाडी डुबेको स्थान प्रहरीचौकी दैलेख पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्दछ । भौगोलिक अवस्था जटिल भएकाले घटनास्थलका बारेमा थप विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










