गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब ११ अर्बको वैदेशिक व्यापार भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वैदेशिक व्यापार करिब १६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको वैदेशिक व्यापार हालसम्मकै उच्च हो । यसअघि आव २०७८/७९ मा सर्वाधिक वैदेशिक व्यापार भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक व्यापार आकार २० खर्ब ८१ अर्ब रुपैयाँको थियो ।

गत आर्थिक वर्षको वैदेशिक व्यापारसँगै निर्यात पनि अघिल्ला वर्षहरूको तुलनामा उच्च हो । गत आवमा नेपालले ३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । भन्सार विभागका अनुसार गत आवमा सोयाबिन तेल मात्रै १ खर्ब २८ अर्बको निर्यात भएको छ । सोयाबिन तेलको निर्यातमा सुधार आएका कारण समग्र निर्यात बढेको हो । गत आर्थिक वर्षको कुल निर्यात अघिल्लो वर्षको तुलनामा १३.८१ प्रतिशतले धेरै हो । आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब ७७ अर्बको वस्तु निर्यात भएको विभागले जनाएको छ । सोयाबिन तेल नेपालमा तेस्रो मुलुकबाट आयात हुन्छ र भारतीय बजारमा निर्यात हुन्छ ।

आर्थिक वर्ष २०८२/८३ मा नेपालले झन्डै ४० अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ । समग्रमा अघिल्लो आव २०८१/८२ को तुलनामा गत वर्ष धान र चामलको कुल आयात परिमाण र त्यसका लागि बाहिरिने रकममा सामान्य गिरावट आएको देखिए पनि प्रवृत्तिमा भने फरकपन आएको छ । तथ्यांकले धान आयात उल्लेख्य घट्दा तयारी चामल आयात भने बढेको देखाएको छ । गत आव २०८२/८३ मा नेपालले कुल ७ लाख ४१ हजार ७ सय ३ टन धानचामल आयात गरेको छ । यसका लागि ३९ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ बाहिरिएको छ ।

अघिल्लो आव २०८१/८२ मा नेपालले कुल ७ लाख ७५ हजार २ सय ६८ टन धानचामल आयात गरेको थियो, जसको कुल आयात मूल्य ४० अर्ब १८ करोड ९७ लाख रुपैयाँ थियो । यसरी समग्र तुलना गर्दा अघिल्लो वर्षभन्दा गत वर्ष धानचामल आयात परिमाण करिब ३३ हजार ५ सय ६५ टन घटेको छ भने रकमका आधारमा पनि करिब २९ करोड ३९ लाखले कमी आएको छ । धानचामल आयातलाई छुट्टाछुट्टै विश्लेषण गर्दा गत वर्ष नेपालले धान (बिउ र अन्य कच्चा धान) आयात घटाएको छ । आव २०८२/८३ मा कुल ४ लाख ७७ हजार ९ सय ९ टन धान आयात भएको छ, जसको आयात मूल्य १९ अर्ब १४ करोड ५९ लाख रुपैयाँ छ ।

गत आर्थिक वर्ष २४ खर्बको आयातमा सबैभन्दा धेरै हिस्सा इन्धनको छ । गत आवमा डिजेलका लागि मात्रै १ खर्ब ७२ अर्ब रुपैयाँ विदेशिएको छ । कच्चा सोयाबिन तेल आयातमा ९८ अर्ब विदेशिएको तथ्यांक छ । त्यस्तै पेट्रोल आयातमा ७७ अर्ब २६ करोड र खाना पकाउने एलपी ग्यास आयातमा ६० अर्ब २८ करोड रुपैयाँ विदेशिएको छ ।

नेपालको वैदेशिक व्यापारका मुख्य साझेदार देश भारत र चीन हुन् । गत आवमा भारतबाट मात्रै नेपालमा १२ खर्ब १० अर्ब रुपैयाँको वस्तु भित्रिएको छ । नेपालबाट भारततर्फ भने जम्मा २ खर्ब ५८ अर्बको वस्तु निर्यात भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ