काठमाडौँ, १२ साउन :


सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा आज छलफल गर्नुभएको छ ।
छलफलमा आगामी साउन १४ गतेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त ‘बिजनेस’ उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचारविमर्श भएको थियो ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले संसद्को मर्यादा, मूल्य–मान्यता कायम गर्दै सदनलाई परिणाममुखी बनाउने विषयमा छलफल भएको बताउनुभयो । उहाँले सत्तारुढ, प्रमुख प्रतिपक्ष तथा विपक्षी दलले आफ्नो जिम्मेवारी पूरा गर्दै जनताको आकाङ्क्षालाई सम्बोधन गर्न संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।
सरकारले पर्याप्त ‘बिजनेस’ दिने प्रतिबद्धता जनाएकाले दसैँअघिसम्म सदन सञ्चालन गर्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । शून्य तथा विशेष समयमा उठाइने विषयलाई सदनको गरिमा र मर्यादा बनाउने विषयमा समेत छलफल भएको उहाँको भनाइ छ ।
नेपाली कम्युनिस्ट पार्टीका सचेतक युवराज दुलालले सदनलाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न प्रत्येक दलको भूमिकाबारे छलफल भएको जानकारी दिनुभयो । उहाँले सरकारले संसदमा विधेयक ल्याउने विषयमा पटक–पटक प्रतिबद्धता जनाए पनि हालसम्म विधेयक दर्ता नभएको उल्लेख गर्दै सरकारलाई विधेयक ल्याउन आह्वान गर्ने काम सत्तापक्षीय दलबाट हुनुपर्ने धारणा आफूहरूले राखेको बताउनुभयो ।
रास्वपाका अर्का सचेतक क्रान्तिशिखा धितालले दुई साताको विश्रामपछि साउन १४ गतेदेखि सदन सञ्चालन हुने भएकाले त्यसलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको जानकारी दिनुभयो । सरकारले सांसदहरू व्यस्त हुने गरी पर्याप्त विधेयकसहितको ‘बिजनेस’ दिने प्रतिबद्धता जनाएको उहाँको भनाइ छ ।
सत्तापक्ष र विपक्षीबीच देखिएको असहमतिका विषयमा सहमतिमा पुग्ने प्रयास भइरहेको जानकारी दिँदै सचेतक धितालले तीन–चार दिनभित्रै सहमतिमा पुगेर सदनलाई शान्तिपूर्ण रूपमा अघि बढाउने विश्वास व्यक्त समेत गर्नुभयो । छलफल सकारात्मक रूपमा अघि बढिरहेको र सरकार सबैको हो भन्ने विश्वासको वातावरण निर्माण गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










