काठमाडौँ, २० साउनः

सरकारले इन्टरनेट सेवा प्रदायक (आइएसपी) कम्पनीहरूको दूरसञ्चार सेवा शुल्क, सलामी दस्तुर तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ)बापतको बक्यौता असुली प्रयास थालेको छ ।

बक्यौता रकम, कर निर्धारण र अनुमतिपत्र नवीकरणसँग सम्बन्धित लामो समयदेखिको विवाद समाधान गर्ने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयले सरोकार भएकासँग छलफल प्रारम्भ गर्दै प्रक्रियागत कार्य थालेको हो ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)का पदाधिकारीसँग छलफल गर्दै कानुनबमोजिम तिर्नुपर्ने कर तथा शुल्क जसरी पनि राज्यकोषमा दाखिला हुनुपर्नेमा जोड दिनुभयो ।

“यदि विद्यमान कानुनविपरीत इन्टरनेट सेवा प्रदायकलाई अन्याय हुने गरी कर वा शुल्क निर्धारण भएको रहेछ भने सरकारले त्यसको पुनरावलोकन गर्न सक्छ। तर कानुनले तिर्नुपर्ने रकम सधैँ अल्झाएर राख्न सकिँदैन। जायज समस्या भए सरकारले सम्बोधन गर्छ, होइन भने बक्यौता असुली प्रक्रिया अघि बढ्छ,” उहाँले भन्नुभयो। ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्र सुधारको वर्षका रूपमा अघि बढाइरहेको उल्लेख गर्दै वर्षौँदेखि समाधान हुन नसकेका नीतिगत तथा प्रशासनिक समस्या टुङ्ग्याइने बताउनुभयो । उहाँले सेवा प्रदायक कम्पनीहरूले भोगिरहेका समस्या, सरकारबाट अपेक्षा गरिएका विषय तथा सुधार गर्नुपर्ने पक्षलाई स्पष्ट रूपमा लिखित सुझावका रूपमा पेस गर्न आइस्पानसँग आग्रह गर्नुभयो ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिरेसम्म इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको अनुमतिपत्र नवीकरण गर्न नसकिने बताउँदै आएको छ । छलफलमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले कानुनबमोजिम तिर्नैपर्ने रकम नतिरी सेवा सञ्चालन तथा अनुमतिपत्र नवीकरणको अपेक्षा गर्न नहुने बताउनुभयो ।

नेपालमा इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायक कम्पनीको सङ्ख्या धेरै भएकाले प्रभावकारी नियमन तथा अनुगमनमा चुनौती देखिएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले ती संस्थालाई गाभ्ने (मर्जर) वा प्राप्ति (एक्विजिसन) प्रक्रियामा लैजान सकिने धारणा राख्नुभयो । धेरै सङ्ख्यामा कमजोर कम्पनी सञ्चालन हुनुभन्दा सीमित सङ्ख्यामा सक्षम र वित्तीय रूपमा सबल सेवा प्रदायक हुनु उपभोक्ता र नियामक दुवैका लागि लाभदायक हुने उहाँले बताउनुभयो ।

आइस्पानले सेवा प्रदायक कम्पनी आर्थिक रूपमा गम्भीर दबाबमा रहेको र एकैपटक पाँच वर्षसम्मको बक्यौता तिर्न सम्भव नभएको जनाउँदै किस्ताबन्दीमा भुक्तानीको व्यवस्थाका लागि आग्रह गरेको छ । सङ्घले विशेषगरी सलामी दस्तुर र ग्रामीण दूरसञ्चार विकास कोषबापतको बक्यौता किस्ताबन्दीमा बुझाउने सुविधा पाउनुपर्नेमा जोड दिएको हो ।

आइस्पानका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिर्ने कम्पनीहरूको इजाजतपत्र नवीकरण नगर्ने निर्णय गरेपछि अधिकांश सेवा प्रदायक थप समस्यामा परेका छन् । इजाजतपत्र नवीकरण रोकिँदा सेवा विस्तार, बैंकिङ कारोबार तथा व्यवसाय सञ्चालनमा असर परेको छ ।

सङ्घले दूरसञ्चार सेवा शुल्क (टिएससी) निर्धारणको विषयमा पुनरावलोकन आवश्यक रहेको र ठूला करदाता कार्यालयले गरेको कर निर्धारण पुनः निर्धारण (रिअसेसमेन्ट) गर्ने अवसर उपलब्ध गराउनुपर्ने माग पनि दोहोर्याएको छ। सेवा प्रदायकहरूले आफूहरूले ग्राहकबाट असुल नै नगरेको रकममा समेत कर तिर्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गरेका थिए ।

हाल अधिकांश इन्टरनेट सेवा प्रदायकले आन्तरिक राजस्व कार्यालयलाई तिर्नुपर्ने करबाहेक सूचना तथा सञ्चार मन्त्रालयलाई बुझाउनुपर्ने कुल आम्दानीको चार प्रतिशत सलामी दस्तुर तथा नेपाल दूरसञ्चार प्राधिकरणमार्फत ग्रामीण दूरसञ्चार विकास कोषमा बुझाउनुपर्ने कुल आम्दानीको दुई प्रतिशत रकमसमेत तिर्न बाँकी रहेको छ । प्रचलित कानुनअनुसार लेखापरीक्षण गरिएको वित्तीय विवरणका आधारमा यी रकम थप दस्तुरसहित सम्बन्धित निकायमा दाखिला गर्न दूरसञ्चार प्राधिकरणले पटकपटक परिपत्र गरे पनि सेवा प्रदायकले अटेर गर्दै आएका छन्।

महालेखापरीक्षकको कार्यालयले पनि आफ्नो वार्षिक प्रतिवेदनमार्फत सेवा प्रदायक कम्पनीबाट उठ्न बाँकी सलामी दस्तुर, ग्रामीण दूरसञ्चार विकास कोष तथा अन्य शुल्कलाई बेरुजुका रूपमा औँल्याउँदै उक्त रकम असुल गर्नुपर्नेमा जोड दिँदै आएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’ राजकुमार पराजुली/रासस काभ्रेपलाञ्चोक, ८ भदौः प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४ वर्षदेखि लगातार कन्यालाई देवीका रूपमा मान्दै पूजा गरिँदै आइएको छ । रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई ‘कन्या–पूजा’ नाम दिइएको यस परम्परालाई यस वर्ष पनि निरन्तरता दिन स्थानीय सनातन कन्या–पूजा प्रबन्ध समितिले तयारी थालिसकेको छ । ‘अमूर्त सांस्कृतिक–सम्पदा’ नामकरण गरी वर्षौँदेखि बनेपाली उक्त पूजामा जुट्दै आएका छन् । विसं १९५९ देखि सांस्कृतिक–सम्पदा जोगाउँदै आएकामा गर्व गर्छन् बनेपाली । यस वर्ष यही भदौ १९ गते पूजाको आयोजना गरिएको छ । परम्पराअनुसार बनेपाको पुरानो बजारमा वर्षैँपिच्छे सप्तमी र कृष्ण जन्माष्टमीका दुई दिन पूजा गरिँदै आएको छ । नेवाः कन्या–पूजाको नाममा टिकट दिएर बनेपा नगरपालिका–८ दक्षुटोलमा उक्त पूजा आयोजना गरिन्छ । पूजामा भने बर्सेनि करिब दुई हजारदेखि दुई हजार ५०० कन्या सहभागी हुने गर्दछन् । पछिल्ला वर्षमा यो सङ्ख्या बढ्दै गएको छ । मुख्य पूजा भने सनातन कन्या–पूजा प्रबन्ध समितिमार्फत बनेपामा कन्यालाई ‘सवा–शताब्दी’देखि पुज्दै आइएको हो । नेपालको काभ्रेपलाञ्चोक जिल्लाबाहेक अन्य स्थानमा यस्तो पूजा गरिएको पाइँदैन । रजस्वला नभएका तथा ‘वेल–विवाह’ नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहिआएको छ । यस मान्यताका साथ पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकको विभिन्न बजार तथा बस्तीमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा पुज्ने प्रचलन विस्तार भएको छ । समितिका अनुसार उक्त पूजामा सहभागी हुने करिब आठ हजार कन्याका लागि ३२ हजार स्वारीसहितका सामग्री तयार पारिएको छ । कन्या पुज्नका लागि आवश्यक सामग्री तथा पुज्ने व्यक्तिको तय भइसकेको समितिका सचिव प्रकाश कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार बनेपा आसपास ‘सात गाउँ’का कन्यालाई बनेपामा पूजा गरिँदै आएको परम्परालाई व्यवस्थित गर्न समिति नै गठन गरी निरन्तरता दिइएको छ । कृष्ण जन्माष्टमीको दिनमा गरिने मुख्य कन्या–पूजामा काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्लाबाट बर्सेनि करिब आठदेखि १० हजार हाराहारीमा कन्या सहभागी हुने गर्दछन् । बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । जनविश्वासका कारण कन्यालाई पुज्नेको ठूलो भीड लाग्ने गर्छ । त्यस दिन कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाटसमेत भक्तजन आउने गरेका छन् । कन्या–पूजामा समितिमार्फत १३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाई वितरण गर्दछन् । पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टीका लगाइदिने प्रचलन छ । बनेपामा हुने कन्या–पूजामा प्रतिकन्या रु ५०० बराबरका सामग्री उपलब्ध गराइन्छ । गत वर्ष पनि करिब आठ हजार कन्याका लागि रु तीन करोडभन्दा बढी खर्च भएको समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले बताउनुभयो । उहाँका अनुसार दाताको सहयोगबाहेकको खर्च समितिका पदाधिकारीले नै व्यहोर्दै आएका छन् । किंवदन्तीअनुसार रजस्वला नभएका र वेलविवाह नगरिएका कन्याको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नरकन्या र किचकन्या मानवकन्याका भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने विश्वास छ । बनेपा सात गाउँलाई राक्षसबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीको रूपमा ‘कन्या’नै भएकाले कन्यालाई पुज्दै आएको बताइन्छ । कन्याको स्वागत एवं सम्मानमा लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजासमेत बजाउँछन् । भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाति या वर्गको आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिन्छ । बनेपा नपा–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्यापूजा सुरु हुने गर्दछ । बनेपाको ऐतिहासिक लेखनअनुसार कुनै समय बनेपाका एक नेवार समुदाय (वैद्य)का व्यक्तिले धेरै दुःख भएपछि घरको बुइँगलमा राखेर कन्यालाई पूजा गरेका थिए । सुरुका वर्षमा नेवार समुदायका रजस्वला नभएका कन्यामात्रै पुजिँदै आएको र केही वर्षपछि सबै जातजातिका कन्यालाई पूजामा सामेल गराइएको स्थानीय बताउँछन् । पछिल्ला केही वर्षदेखि बनेपाका विभिन्न वडा तथा विभिन्न सङ्घसंस्थाले धुलिखेल, पनौती, पाँचखाल, दोलालघाटलगायतका स्थानमा कन्या पूजा आयोजना गर्दै आएका छन् । —

भर्खरै

ट्रेन्डिङ