काठमाडौँ, ११ भदौः राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै उद्धार, राहत र पुनःस्थापनाका लागि संयुक्त राष्ट्रसङ्घ र सम्पूर्ण अन्तरराष्ट्रिय समुदायसँग मानवीय सहयोगका लागि अपिल गर्नुभएको छ ।


कम्बोडियाको फ्नोम पेनमा जारी दोस्रो अन्तर-व्यवस्थापकीय सभामुख/अध्यक्ष सम्मेलन (आइएससी-२) लाई सम्बोधन गर्दै उहाँले यही भदौ १० गते नेपालमा आएको अकल्पनीय विनाशकारी बाढीले ठूलो क्षति पुर्याएको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “यस सम्मेलनमार्फत संयुक्त राष्ट्रसङ्घ तथा सम्पूर्ण अन्तरराष्ट्रिय समुदायसमक्ष उद्धार, राहत र पुनःस्थापनाका लागि मानवीय सहयोग तथा ऐक्यबद्धताको हार्दिक अपिल गर्दछु ।”
बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकहरूको खोजी र यथाशीघ्र उद्धारका लागि पनि अध्यक्ष दाहालले अपिल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
जलवायु परिवर्तनमा नेपालजस्ता देश बढी पीडित
नेपालमा आएको पछिल्लो विनाशकारी बाढीको प्रसङ्ग जोड्दै अध्यक्ष दाहालले जलवायु परिवर्तनमा न्यून भूमिका रहेका नेपाललगायत राष्ट्रहरू अरूका कारण सिर्जित सङ्कटमा परिरहेका बताउनुभयो । उहाँले जलवायु परिवर्तनबाट प्रभावित र पीडित राष्ट्रहरूका लागि विशेष अन्तरराष्ट्रिय कोषको व्यवस्था गर्न विश्वका संसद् र अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभयो ।
“जलवायु परिवर्तनमा न्यून भूमिका रहेका नेपाललगायत राष्ट्रहरू अरूको कारणले पीडित छन्”, उहाँले भन्नुभयो, “पीडित राष्ट्रहरूका लागि विशेष कोषको व्यवस्था गर्न म सबै सांसद्हरूको ध्यानाकर्षण गराउन चाहन्छु ।”
शान्ति स्थापनामा नेपालको विशिष्ट अनुभव
‘शान्ति र साझा समृद्धिका लागि एकताः अन्तरराष्ट्रिय कानुनको सुदृढीकरण र विवादहरूको शान्तिपूर्ण समाधान’ विषयक तीनदिने सम्मेलनको दोस्रो दिन नेपालका तर्फबाट अध्यक्ष दाहालले सम्बोधन गर्नुभएको हो । सो क्रममा अहिले विश्व युद्ध, सशस्त्र द्वन्द्व, भूराजनीतिक प्रतिस्पर्धा, जलवायु परिवर्तन र तीव्र गतिमा विकसित हुँदै गएको प्रविधिका कारण शान्ति व्यवस्थापनान गम्भीर चुनौती थपिएको उहाँले बताउनुभयो ।
अध्यक्ष दाहालले दशक लामो सशस्त्र द्वन्द्वबाट गुज्रिएको नेपालले बल प्रयोगबाट नभई संवाद, सहमति र मौलिक शान्ति प्रक्रियामार्फत द्वन्द्वको समाधान गरेको उल्लेख गर्दै सन् २००६ को विस्तृत शान्ति सम्झौताले नयाँ राजनीतिक अध्याय सुरु गरेको बताउनुभयो ।
जननिर्वाचित संविधानसभाबाट जारी संविधानले सङ्घीयता, गणतन्त्र, समावेशिता र मौलिक हकलाई संस्थागत गरेको उहाँले बताउनुभयो । नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले सम्पन्न गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “यो सहज र छरितो प्रक्रिया थिएन । तर कठिन परिस्थितिमा पनि विचलित नभई नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले सम्पन्न गर्न सकेको छ । हामी यसमा गर्व गर्दछौँ ।”
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










