


सुनसरी, ४ असोजः
सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ ।
देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार साँझ गोली प्रहारबाट घाइते भएका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उहाँको आज शल्यक्रिया गरी गोली निकालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताउनुभयो ।
यादवको कम्मरमुनिको दायाँ तिघ्रामा गोली लागेको छ । उहाँ हरिनगर बजारबाट मोटरसाइकलमा घर फर्किने क्रममा लक्ष्मीनारायण मन्दिर अगाडि गोली प्रहारबाट घाइते हुनु भएको थियो । घटनापछि प्रहरीले देवानगन्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय जयकृष्ण यादवलाई पक्राउ गरेको थियो । उक्त घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको सूचना अधिकारी खड्काले बताउनुभयो ।
युवतीको विषयलाई लिएर युवाहरूबीच भएको विवादबाट उत्पन्न रिसइबीका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal












