काठमाडौँ, ८ असोजः

एसियाली विकास बैङ्क (एडिबी) का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गर्नुभएको छ ।

भेटमा भोटेकोशीको बाढीको वैज्ञानिक अध्ययन र क्षति मूल्याङ्कन, जलवायुमैत्री विद्युत् पूर्वाधार निर्माणमा सहकार्य र सहयोग गर्ने विषयमा छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ । मन्त्री श्रेष्ठले मन्त्रालयले बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठन गरेर अध्ययन गरिरहेको जानकारी गराउनुभयो । यसैगरी, अबको करिडोर कस्तो हुनुपर्छ भनेर प्राविधिक रुपमा अध्ययन गर्न मन्त्रालयकै प्राविधिक टोली बनाइएको उहाँले जानकारी गराउनुभयो । मन्त्रालयले अध्ययनपश्चात् एकीकृत अवधारणापत्र बनाउन लागेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

एडिबीका राष्ट्रिय निर्देशक कोशवाले मन्त्रालयको विज्ञ र प्राविधिक टोलीसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । ऊर्जा क्षेत्रको समग्र विकासका लागि एडिबीका तर्फबाट वैज्ञानिक र प्राविधिक सहयोग गर्ने इच्छा व्यक्त गर्दै राष्ट्रिय निर्देशक कोशवाले क्षति मूल्याङ्कन र आगामी रणनीतिमा सघन काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

भेटमा दूधकोशी जलविद्युत् आयोजनाको शिरमा हिमतालहरु रहेको र जलवायु परिवर्तनको असर कस्तो पर्छ भनेर जोखिमको अध्ययन एडिबीले गरिरहेको जानकारी राष्ट्रिय निर्देशक कोशवाले गराउनुभएको थियो । मन्त्री श्रेष्ठले यस्ता अध्ययनहरु अन्य बेसिनहरुमा पनि गर्नुपर्नेमा जोड दिनुभयो । यसमा एडिबीको सहयोग महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ