९ कात्तिक, काठमाडौं

नाइजेरियाको उत्तरपूर्वी ताराबा राज्यस्थित बिन्नारी समुदायमा अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । प्रहरीले आइतबार घटनास्थल र आसपासका क्षेत्रबाट थप १५ जनाको शव बरामद गरेपछि मृतकको सङ्ख्या ५८ पुगेको जनाएको छ ।

ताराबा राज्य प्रहरीका प्रवक्ता भिक्टर मसलियाहले करिम–लामिडो स्थानीय सरकारी क्षेत्रअन्तर्गत पर्ने बिन्नारीमा शुक्रबार आक्रमण भएको जानकारी दिनुभयो । उहाँका अनुसार समुदायको साप्ताहिक बजार लाग्ने दिन भएको आक्रमणपछि वरपरका झाडी र नदीबाट शवहरू फेला परेका थिए ।

आक्रमणबाट ज्यान जोगाउन भागेका मानिसहरूको खोजी गर्ने क्रममा नजिकैको समुदायमा पीडितहरूलाई बोकेको क्षमताभन्दा बढी यात्रु सवार डुङ्गा पल्टिएको थियो । त्यस घटनामा थप मानिसको मृत्यु भएको आशङ्का गरिएको छ भने केही व्यक्ति अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षाकर्मीहरूले सुरुमा ४० भन्दा बढी शव बरामद गरेका थिए । करिब चार घण्टासम्म चलेको आक्रमणमा बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउनुका साथै धेरै घरमा आगजनी गरेका थिए । घटनापछि कैयौँ परिवार विस्थापित भएका छन् ।

ताराबा राज्य सरकारले विज्ञप्ति जारी गर्दै उद्धार गरिएका पीडित र प्रभावित परिवारलाई सहयोग गर्न राहत सामग्री वितरण सुरु गरिएको जनाएको छ ।

सामुदायिक झडप, लुटपाट तथा जातीय र धार्मिक तनावसँग जोडिएको हिंसाबाट पछिल्ला वर्षहरूमा प्रभावित हुँदै आएको ताराबा राज्यमा भएको यस आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ