सुदूरपश्चिम, १३ कात्तिक : सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगले सञ्चालन अनुमति दिएका शैक्षिक कार्यक्रम कार्यान्वयनमा कुनै समस्या नरहेको जनाएको छ ।



विश्वविद्यालयले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट स्वीकृत शैक्षिक कार्यक्रम सञ्चालनका लागि मपदण्डअनुसार आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन र संस्थागत तयारी गरेकाले कुनै द्विविधामा नरहन आमसरोकारवालालाई आग्रह गरेको हो ।
विश्वविद्यालयका उपकुलपति प्राडा सुनिलकुमार जोशीले चार शैक्षिक कार्यक्रमका लागि स्वीकृत ९० सिटअनुसार पठनपाठन सञ्चालन गर्न कुनै समस्या नरहेको बताउनुभएको हो । आयोगले कानुनी तथा संस्थागत प्रक्रिया, उपलब्ध पूर्वाधार, जनशक्ति र व्यावहारिक अभ्यासको सुनिश्चितताका आधारमा सिट निर्धारण गरेकाले अन्योलमा रहनुपर्ने कुनै कारण नरहेको उहाँले राससलाई जानकारी दिनुभयो ।
“आयोगले हालसम्मका नजिर, संस्थागत अभ्यास र मापदण्ड, विश्वविद्यालयमा रहेका पूर्वाधार क्षमता, जनशक्ति व्यवस्थापन एवं शिक्षणका क्रममा गरिने व्यावहारिक अभ्यासको सुनिश्चितताका आधारमा सिट निर्धारण गरेको छ । त्यस आधारमा हामीले सबैका काम गरिरहेका छौँ”, उपकूलपति प्राडा जोशीले भन्नुभयो ।
उहाँका अनुसार शिक्षण कार्यका लागि आवश्यक पाठ्यक्रम, दक्ष जनशक्ति, उपकरणसहितका प्रयोगशाला र व्यावहारिक अभ्यासका लागि संस्थागत क्षमता विकासको काम नियमानुसार भइरहेको छ । विश्वविद्यालयले अस्पतालको शय्या क्षमता, छात्रवृत्ति तथा विद्यार्थी व्यवस्थापनका लागि आवश्यक स्रोत सुनिश्चित गरिएको पनि जनाएको छ ।
हाल स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको नियमानुसार शिक्षण अस्पतालमा ३२५ शय्या पूर्ण सञ्चालन क्षमता रहेको, ६२२ शय्या व्यवस्थापन भएको र छात्रवृत्तिका लागि रु सात करोड ३९ लाख ३९ हजार स्रोत सुनिश्चितता गरिएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका रजिस्ट्रार डा भीमबहादुर चन्दले एमबीबीएसमा ५०, बीएस्सी नर्सिङमा २०, मेडिकल ल्याबोरेटरी टेक्नोलोजीमा १० र अप्टोमेट्रीमा १० गरी ९० सिटका लागि आवश्यक आधार तयार रहेको बताउनुभयो । उहाँले पछिल्ला पाँच वर्षमा सञ्चालनमा आएका देशभरका पाँच स्वास्थ्य विज्ञान प्रतिष्ठानले पठनपाठन सुरु गर्दाको अवस्थासँग तुलना गर्दा विश्वविद्यालयको तयारी निकै अगाडि रहेको दाबी गर्नुभयो ।
“हामीसँग ९२० शय्या क्षमताको पूर्वाधार तयार छ । एकैपटक दुई हजारभन्दा बढी विद्यार्थीलाई राखेर पठनपाठन गर्ने पूर्वाधार छ । शिक्षण अस्पतालमा दैनिक सरदर चारदेखि पाँच सय विरामी सेवा लिन आउने अवस्था बनिसकेको छ”, रजिष्ट्रार चन्दले भन्नुभयो, “विद्यार्थी छनोट भएर आउँदासम्म शैक्षिक तथा शिक्षण अस्पतालका लागि आवश्यक बाँकी काम पनि पूरा हुने सुनिश्चितता भइसकेको छ ।”
शैक्षिक कार्यक्रम सञ्चालनका लागि सेती, महाकाली र लम्कीचुहा अस्पतालसँग पनि सहकार्य गरिएको रजिस्ट्रार डा चन्दले बताउनुभयो । उहाँका अनुसार यस्तो सहकार्यले विद्यार्थीको व्यावहारिक सिकाइ विस्तार गर्नुका साथै सम्बन्धित अस्पतालको सेवा क्षमता विकासमा समेत सहयोग पुग्नेछ ।
“देशका अन्य प्रतिष्ठानमा शिक्षण कार्य सुरु गर्दा कतिपय संस्थाका नाममा एउटा पनि शय्या भएको अस्पताल थिएन । अन्य संस्थासँगको सहकार्यमै सेवा सञ्चालन गरिएको थियो”, रजिस्ट्रार डा चन्दले भन्नुभयो, “हामीसँग आफ्नै तीन सयभन्दा बढी शय्या क्षमताको अस्पताल तयारी अवस्थामा छ । मापदण्डअनुसारको पूर्वाधार र अन्य स्रोतसाधनमा समस्या छैन ।”
विश्वविद्यालयले शिक्षण अस्पतालमा हाल ३२५ शय्याको सञ्चालन क्षमता रहेको र स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको नियमानुसार सेवा सञ्चालन भइरहेको जनाएको छ । अस्पतालमा जनरल मेडिसिन, जनरल सर्जरी, अर्थोपेडिक्स, स्त्री तथा प्रसूति रोग, बालरोग, मानसिक रोग, छालारोग, नाक–कान–घाँटी, न्युरोलोजी र दन्तरोगलगायत तीन दर्जनभन्दा बढी सेवा सञ्चालनमा छन् ।
अस्पतालमा आकस्मिक उपचार, सघन उपचार कक्ष (आईसीयू), नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू), बाल सघन उपचार कक्ष (पीआईसीयू), उच्च निर्भरता उपचार कक्ष (एचडीयू), शल्यक्रिया तथा शल्यक्रियापछिको उपचार सेवा उपलब्ध छन् । यसैगरी प्याथोलोजी, बायोकेमिस्ट्री, माइक्रोबायोलोजी, एक्स–रे, अल्ट्रासाउन्ड, ईसीजी, इकोकार्डियोग्राफी, इन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी र फार्मेसीलगायतका सेवा सञ्चालनमा रहेको विश्वविद्यालयले जनाएको छ ।
शिक्षण अस्पतालको सेवा विस्तार गर्ने क्रममा क्याथ ल्याब स्थापना गरी मुटुरोगको विशिष्टीकृत उपचार सेवा विकास गर्ने तथा बर्न युनिट र ट्रमा सेन्टर स्थापना गर्ने योजना पनि विश्वविद्यालयले अघि सारेको छ । आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गरी अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ ।
यसरी आवश्यक तयारी पूरा भइसकेको अवस्थामा शैक्षिक कार्यक्रम सञ्चालनबारे भ्रम फैलिँदा समस्या सिर्जना भएको विश्वविद्यालय प्रशासनले जनाएको छ । उपकुलपति जोशीले विगतमा जनशक्ति नियुक्तिको प्रक्रियाका क्रममा उत्पन्न अन्योलका कारण छनोट भएका केही व्यक्ति विश्वविद्यालयमा नआएको उल्लेख गर्दै अहिले पनि विद्यार्थी भर्नाको तयारीका बेला अनावश्यक भ्रम सिर्जना भइरहेको बताउनुभयो ।
“यसरी भ्रम फैलाउने कामले कसैको हित गर्दैन । तीन दशक लामो प्रतिक्षापछि सञ्चालनमा आउन लागेको राष्ट्रिय गौरवका रूपमा रहेको यस विश्वविद्यालयको हित चाहने पक्षले यस्तो काम गर्दैनन् । रचनात्मक खबरदारीको हामी स्वागत गर्छौँ, तर विरोधका लागि विरोध गर्ने प्रवृत्तिबाट विचलित हुँदैनौँ”, उहाँले भन्नुभयो ।
विश्वविद्यालय सञ्चालनका लागि प्रधानमन्त्री एवं कुलपति वालेन्द्र शाह, सङ्घीय, प्रदेश र स्थानीय सरकार तथा आमनागरिकको साथ रहेकाले देखिएका अवरोध समाधान गर्दै अघि बढ्न आफूहरू सक्षम रहेको प्रा डा जोशीको भनाइ छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














