काठमाडौँ, २० फागुन
लागुऔषध सेवन गरी सवारीसाधन चलाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार राति १० बजेदेखि साढे ११ बजेसम्म २५ वटा सवारी साधनका चालकलाई जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएकाले पक्राउ गरिएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले गएराति राजधानी भित्रिने प्रमुख नाका नागढुङ्गामा गरेको विशेष चेकका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।


लागुऔषध सेवन गरी सवारीसाधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी प्रभाग बलम्बु पठाइएको छ । निजहरुलाई थुनामा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।
मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए पनि पछिल्लो समय लागुऔषधसमेत सेवन गरेर सवारीसाधन चलाउने चालकहरु भेटिन थालेपछि लागुऔषध चेक अभियानलाई तीव्रता दिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










