काठमाडौँ, २५ फागुन
मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा पूर्वसभामुख रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । आफ्ना प्रत्यासी पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।


आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा निर्वाचनमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो । मतदानमा सङ्घको एक र प्रदेशको चार मत बदर भएको थियो । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् ।
निर्वाचन समितिका अनुसार पौडेलले सङ्घतर्फ दुई सय १४ र प्रदेशतर्फ तीन सय ५२ मत प्राप्त गर्नुभएको थियो । उहाँले कूल ३३ हजार आठ सय दुई मतभार प्राप्त गर्नुभयो । यसैगरी उहाँका प्रत्यासी नेम्वाङले सङ्घतर्फ ९८ र प्रदेशतर्फ एक सय ६२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । नेम्वाङले कुल १५ हजार पाँच सय १८ मतभार प्राप्त गर्नुभएको थियो ।
मतदानका लागि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको थियो । पूर्वसभामुख पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुनुहुन्थ्यो भने अर्का पूर्वसभामुख नेम्वाङलाई एमालेको साथ थियो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










