काठमाडौँ, २६ फागुन
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको उडान फुकुवा गरेको छ ।
प्राधिकरणका प्राविधिकबाट उक्त एयरलाइन्सको उडानमा रहेका जहाजको आज प्राविधिक सुरक्षा जाँचपछि उडान फुकुवा गर्ने निर्णय गरेको हो । प्राधिकरणले आज बिहान श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको थियो ।


प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले दिएका सुझावको कार्यान्वयन गर्ने गरी एयरलाइन्सको उडान फुकुवा गरिएको छ । “श्री एयरलाइन्सको उडान फुकुवा भयो, तर एयरलाइन्सले सेफ्टी म्यानेजमेन्ट सिस्टम लागू गर्नुपर्छ र आज प्राविधिक जाँचपछि देखिएका विषय र प्राधिकरणका सुझाव पालना गर्नुपर्ने सर्तमा उडान फुकुवा गरिएको हो”, उहाँले भन्नुभयो ।
श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राधिकरणबाट पुनःउडान अनुमति पाएसँगै शनिबारदेखि नियमित उडान सञ्चालन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “प्राधिकरणले आजै पुनःउडान सञ्चालनको अनुमति दिएको छ । अबेर साँझ निर्णय आएकाले भोलि शनिबारदेखि मात्रै उडान गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।
व्यवस्थापक मानन्धरका अनुसार प्राधिकरणको विज्ञ टोलीले उडानमा रहेका श्रीका सबै जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति र प्रशासनिक क्षमतासमेतको अध्ययन गरेको थियो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










