चितवन, ३० फागुन
भरतपुर महानगरपालिकाभित्र विकास निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने १४ निर्माण व्यवसायीलाई कारबाहीको तयारी गरेको छ ।
महानगरपालिका भित्रका विभिन्न विकास निर्माणका जिम्मा लिएर काम सुरु नगर्ने, अलपत्र छाड्ने र काममा ढिलासुस्ती गर्ने उनीहरुलाई कारबाहीको प्रक्रिया सुरु गरिएको हो । महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार महानगरले यस वर्ष दुईवटा निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिस गरी सकेको छ ।


ती कम्पनी कारबाहीमा समेत परिसकेका छन् । अन्य १४ वटालाई कारबाहीका लागि महानगरको कार्यपालिका बैठकले निर्णय गरिसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यपालिका बैठकले कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिसकेको छ । कारबाहीका लागि सिफारिसको प्रक्रियासमेत सुरु भइसकेको छ ।” समयमा काम सम्पन्न नगर्ने उनीहरुलाई चाँडै नै कारबाहीका लागि सिफारिस गर्न आवश्यक प्रक्रिया भइरहेको उहाँले बताउनुभयो ।
महानगरको सिफारिसपछि कारबाही गरिएकामा अनुष्ठा कन्ट्रक्सन प्रालि काठमाडौँ र जनकन्ट्रक्सन भरतपुर १९ रहेको उहाँले जानकारी दिनुभयो । सिफारिस गरिएका ती दुई कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कारबाही गरेको हो । कारबाहीको सिफारिस गरिएकालाई कामको प्रकृति हेरि एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राख्ने गरेको उहाँले जानकारी दिनुभयो । जन कन्ट्रक्सनले बोलपत्र पाए पनि सम्झौता गर्न नआएकाले कारबाही गरिएको हो भने अनुष्ठानले तोकिएको समयमा दुई वटा काम नगरेकाले कारबाहीमा परेको हो । कालोसूचीमा परेका निर्माण व्यवसायीले राखिएको सूचीअनुसार एकदेखि तीन वर्षसम्म देशभर विकास निर्माणको काममा ठेक्का सम्झौता गर्न नपाउने, बाँकी रहेको कामको समेत चलन चल्तिको मूल्यमा असुलउपर गराउने उहाँले जानकारी दिनुभयो । असुलउपरका लागि तहशिल कार्यालयले सरकारी सम्पत्तिसरह गर्ने गरेको उहाँको भनाइ छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










