काठमाडौँ, १७ वैशाख
काठमाडौँको कपनस्थित सरस्वती नगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी नीरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ ।

प्रहरीले लामो अनुसन्धान गरी घटना भएको ११औँ दिनमा आज त्यसको कारणबारे जानकारी गराउँदै लुटपाट गर्ने उद्देश्यले हत्या भएको पाइएको जनाएको छ । यद्यपि थप छानबिना अन्य कारण खुल्न सक्ने प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनको हत्या गरेको आरोपमा शनिबार झापामा पक्राउ परेका विनोद विकलाई प्रहरीको केन्द्रीय अनु्सन्धान ब्यूरोले आज सार्वजनिक पनि गरेको छ । उनी झापा मेचीनगर नगरपालिका–१० घर भइ भक्तपुर नगरपालिका–१ लोकन्थली डेरा गरी बस्दै आएका थिए ।

उनले आफूले नै हत्या गरेको बयान दिएको सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार लुटपाटका क्रममा उनले प्रतिकार गरेपछि भाँडा पसलमै भएको चक्कुले शरीरका विभिन्न ठाउँमा घोचेर हत्या गरेका थिए ।

नीरा एक दशक अघिदेखि काठमाडौँ महानगरपालिका–६ सरस्वती नगरस्थित निरू किचेन एण्ड गिफ्ट स्वभिनर सञ्चालन गर्दै आउनुभएको थियो । प्रहरीले दिएको जानकारीअनुसार सुरुमा आरोपी विक क्यासिनोमा काम गर्ने गरेको र पछि काठमाडौँमा बाउन्सरको रुपमा जागिर गरेका थिए । जुवा खेल्ने क्रममा ऋण लागेपछि उनी लुटपाटमा संलग्न भएको र त्यही क्रममा नीराको पसलमा पुगेका थिए ।

घटना घटाएर झण्डै एक हप्ता उनी भक्तपुरको लोकन्थलीमा लुकेर बसेका र त्यसपछि झापा गएका पनि प्रहरीले जनाएको छ । उनले घटना घटाएर निराको सुनको सिक्री र काउन्टरमा भएको पैसा लिएर गएका थिए । त्यो सिक्री काठमाडौँको तारकेश्वरस्थित पाथिभरा सुनचाँदी पसलमा धरौटी छाडेर ५५ हजार पैसा लिएर गएको पनि खुलेको छ । हत्याका बेला लगाएको कपडा, जुत्ता तथा झोलासमेत प्रहरीले बरामद गरेको छ ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ