मकवानपुर, १० जेठ
बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा(करको प्रस्ताव बाहेक) विषयमा छलफल प्रारम्भ भएको छ ।

छलफलमा सत्तापक्षका प्रदेशसभाको सदस्यहरूले प्रदेशको १३ वटै जिल्लालाई समेटिने गरी कृषि उत्पादन, फलफूल, मौसमी तरकारी खेतीलाई आत्मनिर्भर तुल्याउन दीर्घकालीन गुरुयोजना तर्जुमा गर्नुपर्ने सुझाव दिनुभयो । उहाँहरूले कृषकलाई बीउबिजन र मल खाद्य उपलब्ध गराउन सम्बन्धित मन्त्रालयले पहलकदमी लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

विनियोजित विधेयकको सिद्धान्तलाई केवल प्रचारमुखी मात्र नगरी जनताको जीवनस्तरलाई माथि उठाउन सक्ने खालका पूर्वाधार विकास, गुणस्तरीय स्वास्थ्योपचार र मेडिकल शिक्षालाई बढुवा दिई व्यवहारिकरुपमा कार्यान्वयन गर्नेगरी उच्च प्राथमिकतामा राख्नुपर्ने उहाँहरूको सुझाव थियो ।
 

यसैगरी प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारले अघिल्लो वर्षझै यस वर्ष पनि विनियोजन विधेयक सैद्धान्तिक र प्राथमिकतामा हुबहु शब्दावली राख्नु न्यायोचित नभएको टिप्पणी गर्नुभयो । उहाँहरूले जनतालाई मौसमी खेतीको लागि अत्यन्तै आवश्यक पर्ने मल खाद्य, बीउको समयमै किसानलाई उपलब्ध गराउनेतर्फ बजेटले प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रदेशको १३ वटै जिल्लामा कृषि उत्पादन हुने धेरै जग्गा बाँझो रहेको तर सरकारले ती किसानको मर्म र समस्या बुझ्न नसक्दा वर्तमान अवस्थामा कृषि उत्पादन र फलफूल उत्पादनमा ह्रास आएको भन्दै उहाँहरूले बाह्य मुलुकबाट खाद्यान्न (चामल, तरकारी, फलफूल) आयात गर्नुपर्ने कारणसहित विधेयक बनाउन सुझाव दिनुभयो ।

प्रदेशको १३ जिल्लाको एक सय १९ वटै स्थानीय निकायलाई अझ प्रभावकारी ढङ्गबाट परिचालन गरी सर्वसाधारणलाई सेवा सुविधा सहज ढङ्गबाट उपलब्ध गराउने र उनीहरुलाई प्रदेश सरकार र स्थानीय निकाय हाम्रै हो भन्ने खालको बजेट ल्याउन अग्रसर हुनुपर्नेमा प्रदेशसभा सदस्यको जोड थियो ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ