काठमाडौँ, ११ वैशाखः

नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र अबको मागलाई धान्न नसक्ने निष्कर्ष निकाल्दै युवा तथा प्रविधिमैत्री इन्जिनियरसँग ‘विशेष विचार मन्थन’ कार्यक्रमको आयोजना गरेको छ ।

प्राधिकरणले आफ्नो सेवालाई नवीनतम् विश्वस्तरीय प्रविधिमा रुपान्तरणका लागि ‘सरप्राइज’ र नवीन प्रयोगको सुरुआतका लागि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको उपस्थितिमा उक्त कार्यक्रमको सुरुआत गरिएको हो ।

प्राधिकरणको मेरुदण्ड मानिने वितरण र प्रसारण सेवालाई आधुनिक बनाउने उद्देश्यको सुरुआतसहित यस्तो कार्यक्रमको आयोजना गरिएको प्राधिकरणको भनाइ छ । “कार्यक्रममा सहभागी युवा तथा प्रविधिमैत्री इन्जिनियरहरूलाई विषयवस्तुबारे पूर्वजानकारी दिइएको थिएन”, कार्यकारी निर्देशक शाक्यले कार्यक्रमबारे भन्नुभयो, “अध्ययनको समय नदिई उनीहरूमा रहेको विद्यमान ज्ञान, तत्काल समस्या समाधान गर्ने क्षमता र विश्वव्यापी प्रविधिबारेको बुझाइलाई सोझै विश्लेषण गरिएको थियो । यसले युवा इन्जिनियरहरूलाई यथास्थितिबाट बाहिर निस्केर नवीनतम् योजनाबारे सोच्न बल पुर्याउने हामीले अपेक्षा गरेका छौँ ।”

प्राधिकरणले दिएको जानकारीअनुसार छलफल मुख्य गरेर तीनवटा स्तम्भमा केन्द्रित गरिएको थियो । चुस्त सेवा अर्थात् प्रशासनिक र प्राविधिक प्रक्रियालाई डिजिटल प्रविधिमार्फत छिटो–छरितो बनाउने, दुरुस्त व्यवस्थापन अर्थात् डाटा र अटोमेसनको प्रयोग गरी प्रणालीमा रहेका कमजोरी र चुहावट शून्यमा झार्ने र तेस्रोचाहिँ विश्वसनीय प्रसारण अर्थात् ट्रिपिङ र भोल्टेजको समस्यालाई आधुनिक ‘स्मार्ट ग्रिड’ प्रविधिमार्फत समाधान गर्ने विषयमा केन्द्रित भएका थियौँ”, उहाँले भन्नुभयो, “हामीसँग भएका ऊर्जावान युवा इन्जिनियरहरू प्राधिकरणको भविष्य हुन् । उनीहरूको प्रविधिप्रतिको लगावलाई संस्थाको कार्यशैलीसँग जोडेर नेविप्रालाई विश्वस्तरीय बनाउने हाम्रो लक्ष्यअनुसार यो कार्यक्रमको थालनी गरेका हौँ । सुरुआतमै हामी आशावादी भएका छौँ ।” प्राधिकरणले यो कार्यक्रमलाई निरन्तरता दिने पनि जानकारी दिएको छ ।

नेपालको ऊर्जा क्षेत्रमा उत्पादन बढेसँगै अबको मुख्य चुनौती गुणस्तरीय वितरण र दिगो प्रसारण भएको भन्दै प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र अबको मागलाई धान्न नसक्ने निष्कर्ष निकाल्दै प्रविधिसँग भिजेका नयाँ पुस्ताका इन्जिनियरहरूलाई ‘ड्राइभिङ सिट’ मा राखेर अघि बढ्नुपर्छ भन्ने उद्देश्यका साथ यो कार्यक्रम थालनी गरिएको निर्देशक शाक्यले जानकारी दिनुभयो ।

छलफलबाट निस्किएका निष्कर्षलाई छिट्टै कार्ययोजनामा ढालेर वितरण र प्रसारण प्रणालीमा लागू गर्ने प्राधिकरणको तयारी छ । यसले ग्राहकहरूलाई दिइने सेवामा मात्र नभई, प्राधिकरणको आन्तरिक कार्यसम्पादनमा समेत एउटा ठूलो फड्को मार्ने अपेक्षा प्राधिकरणले लिएको छ ।

पहिलो कार्यक्रममा प्रविधिमैत्री इन्जिनियरको सक्रिय सहभागिता हुनुलाई प्राधिकरणले सफलताको सुरुआत भनेको छ । यसले नवीन कार्यशैलीसँगै विश्वव्यापी ट्रेन्डअनुसारको प्रसारण र वितरण प्रणालीमा टेवा पुग्ने पनि प्राधिकरणको अपेक्षा छ । छलफलले विद्युत् सेवालाई थप भरपर्दो बनाउने ठोस प्रतिबद्धताका लागि आधार तयार गरेको पनि प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ