काठमाडौँ, ३० जेठ : नेपालका अनुसन्धानदाताहरूले मुलुकको विकासका लागि हर क्षेत्रको बृहत अनुसन्धानमा जोड दिनुपर्ने बताएका छन् । नेपाल फिलोसोपिकल रिसर्च सेन्टर (एनपीआरसी) र अनुसन्धानदाता समाजद्वारा शुक्रबारदेखि आयोजित दोस्रो राष्ट्रिय सम्मेलनमा अनुसन्धानदाताहरूले देशको विकासका लागि अनुसन्धान क्षेत्रमा जोड दिनुपर्ने बताएका हुन् ।


कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राडा कृष्णप्रसाद आचार्यले अनुसन्धान राम्रो भएमात्र मुलुकको विकासमा योगदान दिन सकिने भन्दै शिक्षा र प्राध्यापनमा मात्र नभएर मुलुकको विकासका हर क्षेत्रमा अनुसन्धान संस्कृतिको विकास गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो । “अनुसन्धानदाताको लेख राम्रो भएमात्र जर्नल र लेखकको वजन बढ्छ, त्यसैले बोलेर होइन लेख्ने र वैज्ञानिक अनुसन्धानको वानीको विकास गरौँ,” उहाँले भन्नुभयो ।
एनपीआरसीका अध्यक्ष डा तेजबहादुर कार्कीले दिगो विकासका लागि अनुसन्धानमा आधारित कार्यक्रम तय गरिनुपर्नेमा जोड दिँदै अनुसन्धान विनाका कार्यक्रमहरू सफल नहुने धारणा राख्नुभयो । पूर्वीय दर्शनका ज्ञानलाई दस्तावेजीकरण गरेर अगाडि बढाउन सकेमात्र मुलुकले विकास हासिल गर्ने उहाँको भनाइ थियो ।
“अनुसन्धानलाई प्राथमिकता दिएका कारण विश्वका धेरै मुलुक विकासको गतिमा अगाडि बढेका छन्, नेपालले पनि अनुसन्धान क्षेत्रलाई प्राथमिकता दिन सके देश विकासले गति लिन सक्थ्यो”, डा कार्कीले भन्नुभयो ।
अनुसन्धानदाता एवम् नेपाल फिलोसोपिकल रिसर्च सेन्टरका उपाध्यक्ष डा दशरथ न्यौपानेले अनुसन्धानलाई केवल व्यक्तिगत लाभमा मात्र सीमित नराखी समाज र राष्ट्रको सभ्यता विकासमा लगाउनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रलाई केही योगदान दिनुपर्छ भन्ने उद्देश्यका साथ नेपाल फिलोसोपिकल रिसर्च सेन्टरको स्थापना भएको स्मरण गर्नुभयो ।
अनुसन्धानको क्षेत्रमा नेपाल फिलोसोपिकल रिसर्च सेन्टरले खेलेको भूमिकाको जानकारी गराउँदै उहाँले प्राज्ञिक अनुसन्धानले यस क्षेत्रमा मुलुकको उन्नयनमा विशिष्ठ योगदान पुग्ने बताउनुभयो । मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा यामबहादुर सिलवालले क्याम्पसले विद्यार्थीलाई अनुसन्धानको क्षेत्रमा प्रेरित गर्दै लगिरहेको बताउनुभयो ।
कार्यक्रममा एनपिआरसीका संस्थापक डा कृष्णप्रसाद धिताल, हेटौँडा बहुमुखी क्याम्पसका प्रमुख डा देवचन्द्र मानन्धर, मन्थली बहुमुखी क्याम्पसका प्रमुख डा भरतकुमार श्रेष्ठ, अर्थव विजनेश कलेजका प्राचार्य डा हिरालाल श्रेष्ठ, गौरीशङ्कर क्याम्पस बाराका अध्यक्ष एकबहादुर श्रेष्ठ, मेगा कलेजका प्राचार्य डा घनश्याम शाह, बालकुमारी क्याम्पसका प्रमुख डा कुलचन्द्र पण्डितलगायतले अनुसन्धानलाई व्यापकता दिएर अगाडि बढ्न सकेमात्र देशको प्राज्ञिकसहित समग्र विकासमा योगदान पुग्ने बताउनुभएको थियो ।
सम्मेलनमा विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि तथा महाविध्यावारिधी (पोष्ट डक्टोरेट) गर्नुभएका ५० भन्दा बढी अनुसन्धानदाताहरूको सहभागीता रहेको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा ‘चित्लाङ घोषणापत्रको पुनरावलोकन’ समेत गरिएको थियो । मकवानपुरको चितलाङमा ४ वर्षअघि सम्पन्न भएको प्राज्ञिक अनुसन्धानदाताहरूको सो घोषणापत्रमा नेपालमा प्राज्ञिक क्षेत्रमा हुनुपर्ने अनुसन्धान, यसको आवश्यकता र गुणस्तरीयताका लागि निर्माण गर्नुपर्ने पूर्वाधार एवं प्राज्ञिक वातावरणका बारेमा व्यवस्था गरिएको थियो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










