काठमाडौँ, ८ असार

: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने पक्का भएको छ ।

मन्त्री पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै पार्टीको केन्द्रीय सदस्य पद्मा उम्मेदवारी दिने घोषणा गर्नुभएका कारण उहाँको उम्मेदवारी निश्चित भएको हो ।

उहाँले केन्द्रीय सदस्य भएर पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताउनुभयो ।

“राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु, पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु”, मन्त्री पोखरेलले फेसबुकमा पोस्ट गर्नुभएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमा शिक्षा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका पोखरेल रास्वपाको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

निर्वाचनकै समयमा ‘हट सिट’ का प्रतिस्पर्धी पोखरेल निर्वाचन अभियान शैलीलाई लिएर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा चर्चामा हुनुहुन्थ्यो । नेपाल सरकारको प्रवक्ताको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री पोखरेल विषयवस्तुको गहिरो अध्ययन, स्पष्ट दृष्टिकोण र शालीन प्रस्तुतिले सबैमाझ लोकप्रिय हुनुहुन्छ ।

रास्वपाको चितवनमा जारी पहिलो महाधिवेशनअन्तर्गत बन्द सत्रबाट प्रतिवेदन पास भएपछि मङ्गलबार निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ