काठमाडौँ, १७ असारः


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले यात्रु सङ्ख्या कम भएका कारण कालीकोटको सुनथराली विमानस्थलमा नियमित उडान हुन नसकेको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले विमानस्थल सञ्चालनबारे राख्नुभएको जिज्ञासामा मन्त्री पौडेलले ‘ल्यान्ड फ्याक्टर’ अर्थात् यात्रु सङ्ख्याको उपलब्धताका कारण विमानस्थलमा नियमित उडान हुन नसकेको बताउनुभयो ।
विसं २०८० फागुन १४ गते औपचारिक रूपमा विमानस्थल उद्घाटन गरिएको थियो । विसं २०७३ माघ २९ मा पहिलोपटक तारा एयरबाट परीक्षण उडान भएको थियो ।
उक्त विमानस्थलमा नियमित उडान सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरण, नेपाल एयरलाइन्स, तारा एयर, सीता एयर, समिट एयर तथा कालीकोटका प्रतिनिधिको उपस्थितिमा छलफल भएको मन्त्री पौडेलले बताउनुभयो । छलफलमा तारा एयरले हप्ताको दुई दिन नियमित उडान गर्न सहमति जनाए पनि यात्रुको सुनिश्चितता नहुँदा विमानस्थल सञ्चालनमा ल्याउन नसकिएको उहाँले बताउनुभयो ।
“नियमित यात्रुको सुनिश्चितता भएमा उडान सुरु हुन्छ”, मन्त्री पौडेले भन्नुभयो । उहाँका अनुसार नेपालमा ५५ वटा विमानस्थल छन् । जसमध्ये ३४ वटा विमानस्थल सञ्चालनमा रहेका छन् । अधिकांश पहाडी क्षेत्रका विमानस्थल यात्रु अभावका कारण सञ्चालन गर्न सकिएको छैन । बसाइँसराइ, सडक सुविधा सस्तो हुनुलगायत कारणले यात्रु सङ्ख्यामा कमी आएको मन्त्री पौडेलले बताउनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक असार १८ गते बिहीबार १ः१५ बजे बस्ने छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










