म्याग्दी, ९ कात्तिक : दोबावासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र १ को सिमानामा पर्ने दोबावासी आवतजावत गर्ने भीरकाटेपुल कालीगण्डकी नदीले क्षति पुर्याएपछि स्थानीयवासी कष्टपूर्ण यात्रा गर्न विवस भएका हुन् ।



बेनी–जोमसोम–कोरला सडकको भीरकाटे हुँदै दोबा गाउँलाई यातायात सञ्चालमा जोड्न निर्माण भएको पुल जोखिममा परेको छ । पुलको भीरकाटेतर्फको पहुँचमार्ग नदी कटानले भत्काएपछि सवारीसाधन आवतजावतमा जोखिम बढेको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताउनुभयो ।
करिब दुई दशकअघि बेनी–जोमसोम सडकको मार्ग खोल्ने क्रममा दोबावासीले कालीगण्डकी नदीमा पुल निर्माण गर्न माग गरेपछि पुल निर्माण गरिएको थियो । सडक विभाग अन्तर्गतको बेलिब्रिज भएकाले यसको मर्मतसम्भार स्थानीय तहभन्दा सडक विभागले नै गर्नुपर्ने उपाध्यक्ष पुनले बताउनुभयो । पुलमा भएको क्षतिबारे गाउँपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएको बताउनुभयो ।
हाल बेलिब्रिज एकतर्फी सञ्चालन भइरहेको छ । नदी कटान नरोकिए जुनसुकै बेला पहुँचमार्ग पूर्णरूपमा भत्किन सक्ने जोखिम रहेको स्थानीयवासी अमृत पुनले बताउनुभयो । दोबा जोड्ने एकमात्र बेलिब्रिज भएकाले सम्बन्धित निकायले तत्काल मर्मतसम्भार गर्नुपर्ने उहाँको भनाइ छ । दोबामा करिब ३०० घर परिवारको बसोबास छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














