काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को दुईदिने भारत भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक प्रभावित भएको छ । प्रधानमन्त्रीको भीआइपी उडानका लागि हवाई सुरक्षा तथा व्यवस्थापन प्रोटोकल लागू गरिएपछि काठमाडौँ आउँदै गरेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकाशमै होल्ड भएका हुन् ।
प्रधानमन्त्री शाह आइतबार दिउँसो राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारतको नयाँ दिल्ली प्रस्थान गरेका थिए । उनको उडानका क्रममा केही समय विमानस्थलमा नियमित उडान तथा अवतरण रोकिएको थियो ।



उडान विवरण देखाउने वेबसाइट ‘फ्लाइट राडार २४’ मा देखिएअनुसार काठमाडौँ अवतरणको प्रतीक्षामा रहेका जहाजहरू निजगढ–हेटौँडा क्षेत्रको आकाशमा लामो समयसम्म चक्कर लगाइरहेका थिए । सिमरा विमानस्थल तथा पर्सा राष्ट्रिय निकुञ्ज आसपासको आकाशमा बुद्ध एयरको कोलकाता–काठमाडौँ उडान ‘बीएचए १६४’ समेत पटक–पटक फन्को मारेर अवतरण गरेको थियो ।
त्यस्तै, सोही होल्डिङ क्षेत्रमा अन्य दुई जहाज पनि चक्कर लगाइरहेका देखिएका थिए । काठमाडौँको उत्तर–पश्चिम आकाश र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा समेत केही विमानहरू उडान तथा अवतरणको पालो पर्खिरहेका थिए ।
प्रधानमन्त्री शाह सवार नेपाल एयरलाइन्सको उडान नम्बर आरए २१७ (कलसाइन आरएनए २१७) एयरबस ए–३२० विमान दिउँसो १ बजेर ४५ मिनेटमा उड्ने तालिका थियो । तर, निर्धारित समयभन्दा २३ मिनेट ढिलो गरी दिउँसो २ बजेर ८ मिनेटमा विमान काठमाडौँबाट दिल्लीका लागि उडेको थियो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













