६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्लीका लागि प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री शाहसँग भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार सहभागी छन् । सरकारी भ्रमण टोलीमा ३४ सदस्य छन् भने निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा सहभागी हुँदैछ ।



भारतीय समयअनुसार दिउँसो ३ः१५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ ।
विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताजमहल जानेछन् । सोही होटलमा आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । आज अन्य औपचारिक कार्यक्रम भने तय गरिएको छैन ।
भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाहले बिहान १० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यसपछि हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । सो क्रममा शाह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारी छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार मंसिर ७ गते मध्याह्न १२ः२५ बजे दुवै देशबीच सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ । भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोही दिन स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













