तनहुँ । प्रसिद्ध धार्मिकस्थल देवघाटधामको धार्मिक तथा सांस्कृतिक महत्वको प्रचारप्रसार गर्ने उद्देश्यले आज मङ्सिर ७ गतेदेखि गण्डकी परिक्रमा महोत्सव सुरु भएको छ।
वैदिक सनातन धर्म तथा संस्कृतिको संरक्षण र प्रचारप्रसारसँगै देवघाट क्षेत्रको धार्मिक महत्व र भौतिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको कार्यक्रम संयोजक फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए।



देवघाटधामको बेणी सङ्गमबाट सुरु हुने परिक्रमा यात्रामा तनहुँ, चितवन र नवलपुरका विभिन्न धार्मिक तथा सांस्कृतिकस्थलको परिक्रमा गरिनेछ। यात्राका क्रममा पशुपतिनाथ मन्दिर, गङ्गा मन्दिर, गलेश्वर आश्रम, चक्रवर्ती आश्रम, महेश सन्यास आश्रम, अभय सन्यास आश्रम, हरिहर सन्यास आश्रमलगायत स्थलको परिक्रमा गरिनेछ।
त्यस्तै चितवनतर्फ सङ्कल्पेश्वर हनुमान मन्दिर, विश्वशान्ति यज्ञशाला, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारायण मन्दिर, बागेश्वरी मन्दिर, गणेशस्थान, गौरेश्वर शिव मन्दिर, हरिहर मन्दिरलगायत धार्मिकस्थल समेटिएका छन्।
नवलपुरतर्फ गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, शुकदेव भागवताश्रम, श्रीलक्ष्मीनृसिंह दिव्यधाम मन्दिर, केलादी क्षेत्रलगायत स्थान हुँदै पुनः तनहुँ फर्किने कार्यक्रम रहेको छ।
महोत्सवअन्तर्गत करिब २६ किलोमिटर लामो पदयात्रा गरिने आयोजकले जनाएको छ। महोत्सवको पूर्वसन्ध्यामा आइतबार देवघाटमा मोटरसाइकल र्यालीसमेत निकालिएको थियो।
समाजको आयोजना तथा देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको समन्वयमा सञ्चालन भइरहेको महोत्सवमा विगतदेखि नै व्यापक जनसहभागिता हुँदै आएको आयोजकले जनाएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













