७ मंसिर, काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहको भ्रमणको दोस्रो दिन आज सोमबार विभिन्न महत्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय कार्यक्रम हुँदैछन्।

निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहलाई बिहान १० बजे नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ। त्यसपछि बिहान १०:४० बजे राजघाट पुगेर पुष्पहार अर्पण गर्ने कार्यक्रम छ।

बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुनेछ। त्यसलगत्तै बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

दिउँसो १२:३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौता आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

सो क्रममा जनकपुर–अयोध्या रेल सेवा शुभारम्भ, प्रहरी एकेडेमी, एकीकृत जाँच चौकीलगायत परियोजनाको संयुक्त उद्घाटन गरिनेछ। साथै अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्ने तयारी छ।

त्यसपछि भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। दिउँसो ३:१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका औपचारिक कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री शाह साँझ ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्। उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य, विकास साझेदारी तथा साझा चासोका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ