काठमाडौं, ७ मंसिर। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) जीवाश्म इन्धनको विषयमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसक्दा निष्कर्षविहीन बनेको छ। टर्कीको अन्ताल्यामा आयोजित सम्मेलनमा जीवाश्म इन्धनको प्रयोग क्रमशः अन्त्य गर्ने विषय अन्तिम सम्झौतामा समेट्न नसकिएपछि युरोपेली संघ (ईयू), बेलायतसहित केही देशले प्रस्तावित सम्झौता अस्वीकार गरेका छन्।
सम्मेलनको मुख्य निष्कर्षका रूपमा प्रस्ताव गरिएको ‘अन्ताल्या प्याक्ट’ मा जीवाश्म इन्धनबाट बाहिरिने प्रतिबद्धता समावेश नगरिएपछि अन्तिम चरणमा विवाद चुलिएको थियो। शुक्रबार सम्पन्न हुने तय भएको सम्मेलन सहमति जुटाउन नसक्दा आइतबारसम्म लम्बिएको थियो।



ईयूका तर्फबाट बोल्दै आयरल्यान्डका वातावरणमन्त्री ड्याराग ओब्रियनले प्रस्तावित सम्झौताले जलवायु संकटको वर्तमान आवश्यकता सम्बोधन गर्न नसकेको बताए। विज्ञानले देखाएका तथ्य र विश्वव्यापी प्रतिबद्धताअनुसार काम हुनुपर्ने भन्दै उनले जीवाश्म इन्धनको उल्लेख नै नभएको दस्तावेजलाई समर्थन गर्न नसकिने स्पष्ट पारे।
ईयूको असन्तुष्टिपछि पानामा, मार्शल आइल्यान्ड्स र नर्वेले पनि प्रस्तावित सम्झौताप्रति आपत्ति जनाएका थिए। साना टापु राष्ट्र तथा कम विकसित देशहरूले समेत जीवाश्म इन्धनबाट क्रमिक रूपमा बाहिरिने प्रतिबद्धता समेट्न माग गरेका थिए।
अन्ताल्या प्याक्टमा अर्थतन्त्रको विद्युतीकरणलाई प्रोत्साहन गर्ने, जलवायु परिवर्तनको असर सामना गर्न गरिब देशलाई धनी राष्ट्रले आर्थिक सहायता उपलब्ध गराउने र विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसको सीमाभित्र राख्ने प्रयासलगायतका विषय समेटिएका थिए। तर, १३० भन्दा बढी देशको माग हुँदाहुँदै पनि जीवाश्म इन्धनबाट बाहिरिने स्पष्ट प्रतिबद्धता समावेश हुन सकेन।
कार्बन क्याप्चर एन्ड स्टोरेज (सीसीएस) प्रविधिसम्बन्धी प्रावधानले पनि विवाद बढाएको थियो। उक्त प्रविधिले जीवाश्म इन्धनको प्रयोगलाई निरन्तरता दिन सक्ने भन्दै केही देशले आलोचना गरेका थिए भने साउदी अरबले त्यसको बचाउ गरेको थियो।
मुख्य सम्झौतामा सहमति हुन नसके पनि उच्च कार्बन उत्सर्जन गर्ने उद्योगबाट न्यून कार्बन अर्थतन्त्रतर्फ संक्रमण गर्दा श्रमिकलाई सहयोग गर्ने ‘जस्ट ट्रान्जिसन’ लगायतका विषयमा भने निर्णय भएको थियो।
सम्मेलनका अध्यक्ष टर्कीका वातावरणमन्त्री मुरात कुरुमले मुख्य दस्तावेजमा सहमति जुट्न नसकेको स्वीकार गर्दै कुनै पनि देशमाथि निर्णय थोपर्न नचाहेको बताए। अस्ट्रेलियाका जलवायु परिवर्तनमन्त्री तथा सह–अध्यक्ष क्रिस बोवेनले पनि विभिन्न देशका फरक–फरक अडानका कारण सहमति सम्भव नभएको बताए।
संयुक्त राष्ट्रसंघका जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले अपेक्षित सहमति जुट्न नसके पनि अन्य विषयमा प्रगति भएको उल्लेख गरे। पूर्वआयरिस राष्ट्रपति तथा पूर्वसंयुक्त राष्ट्रसंघीय जलवायु दूत मेरी रोबिन्सनले भने वार्तामा नेतृत्व र तत्परताको अभाव देखिएको भन्दै निराशा व्यक्त गरिन्।
विश्वभर तापलहर, खडेरी, बाढी तथा अन्य चरम मौसमी घटना बढिरहेका बेला सम्मेलनले ठोस निष्कर्ष दिन नसकेको भन्दै सहभागीहरूले असन्तुष्टि जनाएका थिए। नेपालमा हिमनदीजन्य विपद्लगायत जलवायुजन्य जोखिम बढिरहेको अवस्थामा पनि सम्मेलनको उपलब्धि अपेक्षाअनुसार हुन नसकेको भन्दै आलोचना भएको थियो।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सम्मेलन साझा निष्कर्षमा पुग्न नसकेकोमा गहिरो निराशा व्यक्त गरेका छन्। यद्यपि, वार्तामा सहमति जुट्न नसके पनि जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक तथ्यमा कुनै अस्पष्टता नरहेको उनले बताएका छन्।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













