७ मंसिर, गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा एक लाख २३ हजार ७१४ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २९ हजार ११० ले बढी हो । गत चार महिनामा सबैभन्दा बढी कात्तिकमा ४६ हजार २४७ पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका छन् । त्यस्तै, असोजमा ३२ हजार ९३६, साउनमा २६ हजार ५९१ र भदौमा १७ हजार ९१३ पर्यटकले भ्रमण गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका प्रमुख डा. रविन कडरियाका अनुसार भ्रमण गर्ने पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका ५२ हजार ८८६ जना रहेका छन् भने बाँकी अन्य देशका हुन् । असोज र कात्तिक मुख्य पर्यटकीय याम भएकाले यस अवधिमा पर्यटकको आगमन बढी हुने गरेको उनले बताए ।

आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग हुँदै यस क्षेत्रमा बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटकसमेत पुग्ने गरेका छन् ।

अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र घोडेपानीलगायतका गन्तव्य पदयात्रा तथा प्राकृतिक सौन्दर्यमा रमाउन चाहने पर्यटकको आकर्षणका केन्द्र बनेका छन् ।

७ हजार ६०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन र मौलिक संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएको यस संरक्षण क्षेत्रमा विभिन्न मार्गबाट छोटो, मध्यम तथा लामो दूरीका पदयात्रा गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ