काठमाडौँ । मकवानपुरको भीमफेदीमा २६ कात्तिकमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटना चालकको थकान र पर्याप्त आराम नपुगेका कारण भएको निष्कर्ष छानबिन समितिले निकालेको छ।

काठमाडौंबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। गाडी सडकबाट करिब ५ सयदेखि ७ सय मिटर तल खसेको थियो।

मकवानपुर जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छानबिन प्रतिवेदनमा चालकले दुर्घटनाको समयमा पर्याप्त आराम नपाएको र शारीरिक तथा मानसिक रूपमा थकित रहेको हुनसक्ने उल्लेख छ। चालकले अघिल्लो दिन पनि लामो समयसम्म सवारी चलाएको पाइएको समितिले जनाएको छ।

प्रतिवेदनअनुसार चालकले २४ कात्तिकदेखि लगातार लामो दूरीको यात्रा गरेका थिए। २५ गते राति करिब १ बजे काठमाडौं आइपुगेका चालक त्यसको एक घण्टापछि नै गाडी लिएर सर्लाहीतर्फ लागेका थिए। बिहान पौने ६ बजे भीमफेदीमा दुर्घटना भएको थियो।

स्थलगत अध्ययनका क्रममा दुर्घटनास्थलको सडक साँघुरो भएर दुर्घटना भएको देखिने अवस्था नरहेको समितिले जनाएको छ। सडक करिब ६ मिटर कालोपत्र र १० मिटरभन्दा बढी सोल्डर रहेको तथा गाडी पार्क गर्न मिल्ने स्थानसमेत रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले चालकलाई पर्याप्त आरामको व्यवस्था नगरी अत्यधिक समय सवारी चलाउन लगाएको विषयमा यातायात व्यवसायी तथा सवारी धनीको भूमिकामाथि समेत प्रश्न उठाएको छ। साथै, ११ सिट क्षमताको गाडीमा २० जना यात्रु राखिएको विषयले पनि दुर्घटनाको जोखिम बढाएको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ